स्याङजा, २ साउन ।
वालिङ नगरपालिका उपप्रमुख तथा नेपाल महिला संघ स्याङ्जाकी सभापती कल्पना तिवारीलाई पितृशोक परेको छ । तिवारीका पिता भीमलाल तिवारीको शुक्रवार ७१ वर्षको उमेरमा वालिङमा निधन भएको हो ।
वालिङ नगरपालिका वाड नं ८ निवासी तिवारीको स्वास्थ्यमा सामान्य श्वासप्रश्वासमा समस्या आएपछि वालिङ स्थित गह्रौ प्राथमिक अस्पतालमा सामान्य उपचार पछि थप स्वास्थ्य परिक्षणका लागि पोखरा रिफर गरिएको थियो । उनको पोखरा तर्फ जाने तयारी हुँदैगर्दा अचानक हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।
स्वर्गीय तिवारीका नेपाली काँग्रेसकी महिला नेतृ कल्पना तिवारी सहित दुई छोरी र तीन छोरा छन् । स्वर्गीय तिवारीको शवलाई शुक्रवारनै रामनदीधाम राम्दीमा अन्त्येष्टी गरिएको छ ।
यसैबीच वालिङ नगर उपप्रमुख कल्पना तिवारीका पिता भीमलाल तिवारीको निधनप्रति वालिङ नगरपालिकाले दुःख ब्यक्त गरेको छ । नगर प्रमुख दिलीपप्रताप खाँणले एक शोक वक्तब्य जारी गर्दै तिवारीको निधनले एक असल अभिभावक गुमाएको उल्लेख गरेका छन् । तिवारीको निधनप्रति दुःख ब्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी समवेदना प्रकट गरिएको उल्लेख छ ।
स्वर्गीय तिवारीको अन्तिम दाहासंस्कार गर्नु अघि नेपाली काँग्रेस स्याङ्जाले पार्टीको झण्डा ओढाएर शोक सम्मान प्रकट गरिएको थियो । शोकसभामा नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति बुद्धिबहादुर राना, नेपाली काँग्रेसका महासमिति सदस्य भोजराज अर्याल, गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ल, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण लगायत का नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
स्व. तिवारीको निधनवाट हिमदुत परिवार पनि स्तव्ध भएको छ । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन वालिङ नगरपालिकाकी उपप्रमुख कल्पना तिवारी लगायत समस्त परिवारजनमा परेको शोक शक्तिमा परिणत होस भन्दै समवेदना प्रकट गर्दछौ ।