निशान्त सुवेदी
वालिङ, २३ असार । उत्कृष्ठ कृषि उद्यमीहरुलाई पुरस्कृत गरिएको छ । कृषि क्षेत्रमा व्यवसायीक सोचलाई व्यवहारमा उतार्न सफल भएका वालिङका ९ जना कृषकलाई वालिङ नगरपालिकाले नगद सहित पुरस्कृत गरेको हो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत कृषकलाई पुरस्कृत गर्नुका साथै सामाग्री बितरण गरिएको कार्यक्रम संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिए ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले उद्यमशीलताको प्रवद्र्धनवाट नै उत्पादन बढाउन सकिने बताए । युएनडिपीसँगको आर्थिक साझेदारीमा कृषि क्षेत्रमा नगरपालिकाले गरेको सहकार्यवाट थप टेवा पुगेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले अनुदानमा प्राप्त सामाग्रीहरु सबैले मिलेर प्रयोग गर्नु पर्नेमा जोड दिइन् । नगरपालिकावाट प्राप्त सामाग्रीको सही तथा सामुहिक प्रयोग गरेमा कामगर्न थप सहज हुने वताइन् ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले माटो सुहाउदो कृषि खेतीलाई नगरपालिकाले प्राथमिकता दिईरहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले उत्कृष्ट र उदाहरणीय काम गरिरहेका कृषि उद्यमीहरुलाई पुरस्कृत गरिएको वताइन ।
कृषि कर्ममा राम्रो काम गरेर उदाहरणीय बनेका ९ जना उद्यमीहरुलाई प्रशंसा स्वरुप नगद रु १० हजार तथा प्रमाणपत्रले पुरस्कृत गरिएको छ भने १६ जना कृषकलाई गोठसुधार कार्यक्रम अन्तरगत साझेदारीमा सहयोग गरिएको नगरपालिकाले जानकारी दिएको छ । कृषकलाई चापकटर, टनेल, ठेला लगायतका कृषि सामाग्री सहयोग गरिएको थियो ।