चापाकोट,
सालको पात टिपेर दुनाटपरी बनाउने चलन हराउन थालेपछि चापाकोट नगरपालिका महिलालाई दुना टपरी बनाउने तालिम दिन थालिएको छ । नगरपालिकाले प्लास्टिक विस्थापित गर्ने रणनिति संगै महिलाहरुलाई आयआर्जनमा समेत सहयोग पुग्ने उद्देश्यले विद्युतीय मेसिनवाट दुना टपरी निर्माण गर्ने तालिम प्रदान गरिएको हो ।
गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत चापकोट नगरपालिकाको आत्म निर्भर महिला सहकारी संस्थाका महिला समुहलाई शिप सिकाई दुना टपरी वनाउने विद्युतिय मेसिन समेत हस्तान्तरण गरिएको छ । चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमार गिरीले स्थानीय बनमा खेर गइरहेको सालको पात टिपेर दुना टपरी बनाई महिलाहरुको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मेसिन सहयोग गरेको जानकारी दिए ।
पुजाआजा, भोज, भतेर र कार्यक्रममा पलास्टिकको प्लेटको बिकल्पमा दुना टपरी प्रयोगमा ल्याउने योजना अघि सारिएको छ । नगर प्रमुख गिरीले भने, बिद्युतीय मेसिन भएपछि दुना टपरी उत्पादन गर्ने समय र लागत समेत घट्ने वताए । तालिममा सिकेको शिप र यो आधुनिक विद्युतिय मेसिनको प्रयोगवाट महिलाहरुको समुहवाट उत्पादित वस्तुको विक्रि वितरणमा पनि नगरपालिकाले आवश्यक सहयोग गर्ने नगर प्रमुख गिरीले वताए ।
तालिममा आत्मनिर्भर महिला सहकारी संस्थाका ४० जना महिलाहरुको सहभागिता रहेको थियो । नगरपालिकाले महिलाहरुलाई उद्दमी वनाउने उद्देश्यले गरेको शिपमुलक तालिमलाई सदुपयोग गर्ने सहकारीकी अध्यक्ष गायत्री आचार्यले प्रतिवद्धता व्यक्त गरिन् । उनले नगरपालिकावाट सहयोग प्राप्त दुना टपरी निर्माण गर्ने विद्युतीय मेसिनलाई सहकारीको सामुदायिक भवनमै सन्चालन गरिने सामुहिक उत्पादनको मोडेलमा उद्योगको रुपमा विकास गर्ने लक्ष्य लिइएको समेत उनले प्रष्ट पारिन् ।
अहिले सम्म आफूहरुले हातले नै दुना टपरी बनाउदै आएको र यसरी मेसिनबाट दुना टपरी बनाउने सिप सिक्ने अवसर पाउँदा खुसी लागेको तालिममा सहभागी चापाकोट नगरपालिका वाड नं २ ठाँटी भञ्ज्याङकी लक्ष्मी मल्लले बताईन् । साउनको पहिलो हप्तावाट महिलाहरु सबै मिलेर जंगलमा सालको पात पिप्छौ र लगत्तै उत्पादन गर्ने योजनामा रहेको उनले जानकारी दिइन् ।
पुजा, विवाह, ब्रतबन्ध जस्ता धार्मिक कार्यमा दुना टपरीको प्रयोग हुन्छ । चापाकोट आसपासमा दुना टपरी बनाउन प्रयोग हुने सालको जंगल प्रसस्त रहेकोले महिलाहरु सहजै यो उद्योग सन्चालन गर्न सक्ने चापकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव खनालले वताए । नगरपालिकाले सहयोग गरेको यो मेसिन सहकारीले सहि सदुपयोग गर्न सके र यसलाई व्यवसायिक उत्पादन संग जोडन सके यहाँका महिलाहरुको अयआर्जनमा समेत थप टेवा पुग्ने उनले वताए ।