भीरकोट, १२ असार ।
स्याङ्जा- भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०७८ / ७९ का लागि ६८ करोड २६ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
नगरपालिकामा शुक्रवार सम्पन्न आठौं नगरसभाका क्रममा चालु खर्च तर्फ रु ३९ करोड ११ लाख ४२ हजार अर्थात ५७.३० प्रतिशत, शसर्त अनुदान तर्फको चालु खर्च रु २४ करोड ७६ लाख ७५ हजार अर्थात ३६.२८ प्रतिशत र नगरपालिका तर्फको चालु खर्च रु १४ करोड ३४ लाख ६७ हजार अर्थात २१.०२ प्रतिशत रहको छ भने पुँजीगत खर्चतर्फ १४ करोड १४ लाख ८० हजार अर्थात २०.७३ र सामाजिक सुरक्षा खर्चतर्फ रु १५ करोड २१.९७ प्रतिशत रहेको नगर उपप्रमुख सीमा केसी कर्मचार्यले जानकारी दिइन्।
उपप्रमुख कर्मचार्यले बजेटको स्रोततर्फ आन्तरिक आयबाट ३ करोड ५० लाख, संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने राजस्व वाँडफाँडवाट ८ करोड २६ लाख ९२ हजार, अन्तरसरकारी वित्तीय हस्तान्तरणवाट ५५ करोड ७४ लाख ५५ हजार र अन्य स्रोतबाट रु ७५ लाख अनुमान गरिएको जनाएको छ ।
नगरपालिकाले अगामी आवका लागि विनियोजन गरेको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, वातावरणीय सरसफाइ, स्वच्छता र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । आगामी वर्षको वजेटमा कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि कोरोना व्यवस्थापन तथा प्रतिरक्षा कार्यक्रम शिर्षकमा ३५ लाख, विपद् व्यवस्थापन शिर्षकमा २० लाख र आँधीखोला नियन्त्रण तथा तटवन्धन कार्यका लागि १५ लाख विनियोेजन गरिएको छ ।
कृषि तथा पशुपंछी क्षेत्रको एकिृत विकासका लागि संघीय सरकारवाट सशर्त अनुदान १ करोड १ लाख, विशेष अनुदान १ करोड २५ लाख, नगरपालिकावाट २० लाख गरी कुल २ करोड ४६ लाख बजेट विनियोजन गरेको उप प्रमुख कर्मचार्यले जानकारी दिइन् ।
नगर सभामा नगरपालिकाका प्रमुख छाँयाराम खनालले भीरकोटको पर्यटकीय पूर्वाधार निर्माण गरी समृद्ध भीरकोटको अभियानलाई मुर्तरुप दिने योजना रहेको उनले जानकारी दिए ।
नीति तथा कार्यक्रममा धार्मिक तथा ऐतिहासिक महत्व वोकेको आँधीखोला किनारमा हरित सडक निर्माण कार्यलाई प्राथामिकतामा राखिएको छ । जसले समृद्ध भीरकोटको आधार कृषि पर्यटन आँधीखोलाको उपहार भन्ने नारालाई साकार पार्ने लक्ष्य लिइएको नगर प्रमुख खनालले जानकारी दिए ।
एक वडा एक रणनितिक सडक, उज्यालो भीरकोट अभियान, खानेपानी, सिँचाई, रोजगारीलाई प्राथामिकतामा राखिएको छ । बालमैत्री नगर घोषित भइसकेकोले कार्यन्वयनको पक्षलाई कडाइका साथ लागु गर्ने निति अवलम्वन गरेको जानकारी दिए ।
भीरकोट नगरपालिकाको चालु आर्थिक वर्षका लागि ५७ करोड ९७ लाख ९९ हजार बजेट विनियोजन गरिएको मध्ये हाल सम्म ३८ करोड २४ लाख ९५ हजार खर्च भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषालले जानकारी दिए ।
चालु वर्षको आम्दानी मध्येको आन्तरिक राजश्ववाट २ करोड ३० लाख लक्ष्य लिइएकोमा ६३ प्रतिशत अर्थात १ करोड ४५ लाख राजश्व संकलन गर्न सफल भएको उनले जानकारी दिए ।
भीरकोट नगरपालिकाले सुरुवाटै आफ्नो विकासको खाका प्रष्ट गर्दै अगाडी वढेको हुँदा सिमित स्रोत र साधन परिचालनवाट उच्च प्रतिफल हाँसिल गर्न सफल भएको धारणा पनि उनले वताए ।
भीरकोट नगरपालिकाले विहिवार आयोजना गरेको नगर सभा वडा नं ७ की वडा सदस्य रुपा सार्कीको निधन भएका कारण स्थगित गरी शुक्रवारका लागि तय गरिएको थियो ।