हिमदुत सम्वाददाता
स्याङ्जा-११, असार ।
स्याङ्जाको विरुवा गाँउपालिकाको नवौं गाँउसभा सम्पन्न भएको छ । सभामा गाँउपालिकाले आगामी आर्थिक वर्ष २०७८ /०७९ का लागि गाँउपालिकाकी उपाध्यक्ष देवी थापाले ४२ करोड ९२ लाख ६८ हजार रुपैया बरावरको अनुमानित बजेट सार्वजानिक गरेकी छन् ।
“समृद्ध बिरुवा सुखी बिरुवाबासी” भन्ने नाराका साथ सम्पन्न गाँउ सभामा सभामा पेश भएको बजेटमा कोरोना नियन्त्रण तथा रोकथामको विषम परिस्थितिलाई समुचित सम्बोधन गर्नुका साथै रोजगारी सिर्जना, स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा बजेट केन्द्रीत रहेको छ ।
आ.व. २०७८/०७९ का लागि गरिएको अनुमानित आयका आधारमा पालिकाकोको समग्र लगानीलाई आर्थिक विकास, सामाजिक विकास, भौतिक पुर्वाधार विकास, सुशासन तथा अन्तर्रसम्वन्धित क्षेत्र, विपद व्यवस्थापन, सामाजिक सुरक्षा र कार्यालय सञ्चालन समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा क्षेत्रगत विनियोजनको व्यवस्था मिलाईएको उपाध्यक्ष थापाले जानकारी दिइन् ।
प्रस्तुत बजेटमा चालू तर्फ १४ करोड ९२ लाख ७२ हजार, पूँजीगत तर्फ ६ करोड ९९ लाख ९६ हजार र शसर्त तर्फ २१ करोड गरी कुल ४२ करोड ९२ लाख ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिए ।
बजेटमा कोरोना नियन्त्रणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको छ भने, नमुना कृषि कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम जस्ता कार्यक्रम समावेश गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि गाँउपालिकाले रु १० लाख बिनियोजन गरेको छ । निर्माणाधिन गाँउपालिकाको प्रशासकीय भवनका लागि रु १ करोड ७५ लाख विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।
सभामा गाँउपालिकाका अध्यक्ष चुन प्रसाद शर्माले आगामी वर्षको नीति तथा कार्यक्रममा मुख्य प्राथमिकतामा राखिएको कोरोना नियन्त्रण, सडक पूर्वाधार विकास, पर्यटन, कृषि, रोजगारी र शिक्षालाई बजेटमा समेत प्राथमिकता दिएको जानकारी दिएका छन् । यो गाउँपालिकाले आर्थिक विकास, गरिबी निवारण, र रोजगारीको सिर्जना गर्ने उद्धेश्य लिएको अध्यक्ष शर्माले जानकारी दिए ।
उत्पादनमुलक तथा छिटो प्रतिफल दिने कार्यक्रमहरु, जनताको जीवनस्तर उकास्ने कार्यक्रम, स्थानीय श्रोत साधन, सिप र स्थानीयको सभागितामुलक कार्यक्रमलाई जोड दिईएको छ । दिगो विकास वातावरणीय संरक्षण तथा सम्वर्दन, पारदर्शि, उत्तरदायित्व र सूचनाको हक मार्फत सुसशासनको अभिबृद्धि गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको उनले जानकारी दिए ।
सभामा वडा नम्वर ६ का अध्यक्ष कृष्ण केसी, प्रकाश थापा, युवराज केसी लगायतले मन्तव्य राखेका थिए । सभाले बन ऐन २०७८ पारित गरेको छ ।