हिमदुत सम्वाददाता
गल्याङ, १० असार ।
स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि आफ्नो वार्षिक निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । सरकारी वित्त व्यवस्थापन ऐन् २०७४ ले व्यवस्था गरे अनुरुप आज स्याङ्जाको गल्याङ नगरपालिकाले पनि आर्थिक वर्ष २०७८/०७९ का लागि आफ्नो वार्षिक निति तथा कार्यक्रम र आय–व्ययको अनुमानित विवरण सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षका लागि ७० करोडको बजेट ल्याएको गल्याङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि झण्डै ७७ करोडको बजेट ल्याएको छ । आन्तरिक स्रोत सुनिश्चितताको अभाव र कोरोना महामारी लगायतका कारणले बजेटको आकार खुम्चिने अनुमान गरिएपनि नगरपालिकाले कूल ७६ करोड ६७ लाख ६२ हजार रुपैयाको अनुमानित बजेट ल्याएको हो ।
आगामी आर्थिक वर्षका लागि नगरपालिकाले यसपटक ल्याएको बजेट चालु आ.ब.को तुलनामा झण्डै ५ प्रतिशतले ठूलो हो । बिहीबार अयोजित नवौं नगर सभामा नगरपालिकाकी उप–प्रमुख देवीसरा थापाले आगामी आर्थिक वर्षको अनुमानित आय–व्ययको सारसंक्षेप प्रस्तुत गरेकी छन् ।
उप्रमुख थापाद्वार प्रस्तुत बजेटमा चालु खर्च १० करोड ६४ लाख ६० हजार अर्थात् ३०.१५ प्रतिशत र पुँजिगत तर्फ २४ करोड ६७ लाख दुई हजार अर्थात ६९.८५ प्रतिशत विनियोजन गरिएको छ । नगरपालिकाले साधारण खर्च तर्फ १८ करोड ९९ लाख ८० हजार र विकास तर्फ ५७ करोड ६७ लाख ८२ हजार विनियोजन गरेको छ । उपप्रमुख थापाले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको असार मसान्त सम्ममा चालु खर्च तर्फ ९० प्रतिशत र पुँजिगत तर्फ ७० प्रतिशत खर्च हुने बताइन् ।
यस्तै, अन्डामा आत्मनिर्भर बन्ने कार्यक्रमको लागि ४२ लाख, बाख्रा बिकास कार्यक्रममा ५० लाख, दुध उत्पादन कार्यक्रमका लागि ४२ लाख एवम् प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गाइ पकेट स्थापनाका लागि २५ लाख विनियोजन गरिएको छ । वडा नं ८ मा कालिज पालन प्रवर्धनका लागि ५० लाख, पशु आहारा मिसन कार्यक्रमका लागि ४ लाख एवम् कृत्रिम गर्भाधान मिसन कार्यक्रमका लागि ४ लाख विनियोजन गरिएको छ ।
नगरसभामा नगरपालिका प्रमुख भुपराज अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गल्याङ नगर अस्पताललाई कोभिड उपचार केन्द्रको रुपमा रुपान्तरण गरि कोरोना संक्रमित नागरिकको निशुल्क उपचारको व्यवस्था मिलाइने कार्यक्रमलाई प्राथमिकतामा राखिएको वताए ।
आधारभुत स्वास्थ्य सेवामा नगरवासीको सहज पँहुचका गल्याङ नगर अस्पतालको क्षमता विस्तार गरि विशेषज्ञ सेवा सहित २५ शैयाको अस्पतालमा स्तरोन्नति गरिने साथै गल्याङ नगरपालिकामा सुविधासम्पन्न प्राकृतिक चिकित्सा सहितको १५ शैयाको आयुर्बेद अस्पताल स्थापनाका लागि आवश्यक जग्गा तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरि कार्यान्वयन गरिने उल्लेख छ ।
नगर प्रमुख अधिकारीले शिक्षामा पहुँच विस्तार गर्न र जीवनयोपगी शिक्षा प्रदान गरि स्वरोजगार श्रृजना गर्ने नीति अवलम्बन गरिनुका साथै एक विद्यालय एक फुलबारी कार्यक्रम, स्थानीय संस्कृति, रीतिरीवाज, परम्परा ऐतिहासिक स्थल, मठ मन्दिर, प्राकृतिक स्थलका बारेमा स्थानीय पाठ्यक्रम निर्माण गरि पठनपाठनको व्यवस्था गरिने जानकारी दिए । शैक्षिक क्षेत्रका सुधारका विभिन्न कार्यक्रमहरु अगाडी सार्दै नगरपालिकाले आगमी वर्ष उत्कृष्ठ विद्यार्थी सम्मान, सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था, निशुल्क सेनेटरी प्याड जस्ता कार्यक्रमहरु सन्चालन गरिने लक्ष्य लिइएको वताए ।
कृषि क्षेत्रको विकासमा चालु वर्षको कार्यक्रम दुध विक्रिमा दुग्ध संकलन केन्द्रको अभिलेख र पशु सेवा केन्द्रको सिफारिसमा प्रति लिटर १५ रुपैयाँसम्म अनुदान दिने व्यवस्थालाई निरन्तरता दिदै बाख्रापालन गर्ने वडामा बाख्रा पकेट क्षेत्र कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ । यसका अलावा सहुलियत ऋण, पशु विमाको व्यवस्था, खाद्य तथा पोषण सुरक्षाका कार्यक्रम, वैदेशिक रोजगारीवाट फिर्ता भएका युवा, विपन्नवर्ग र एकल फर्मलाई २ लाख ५० हजार सम्मको वैंकको व्याज छुटको व्यवस्था गरेको जनाएका छन् ।
प्रस्तुत नीति तथा कार्यक्रममा पर्यटकीय पूर्वाधार विकास र पर्यटकीय क्षेत्रको विकासका लागि नेपालकै प्रसिद्ध सेतीवेणी शिला, रामनदीधाम परिसरमा हेलीप्याड निर्माणका लागि वृस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माणको कार्य गरिने, तम्किकोट, भाल्थुमकोट, ग्वादी, बजादी, केदारनाथ, तार्सेसिद्ध, रानिपोखरी, बंग्राती कालिका, देवीस्थान, गह्रौसुर, आलमदेवि, जगत्रदेवि, देविभन्ज्याङ, स्यालवास हात्तिस्थान, सम्पास शिला, मनकामना मन्दिर, उत्तरवाहिनी खाडा घाट, पाखिचौर सुनपोखरी, देउराली मन्दिर,गेझा कालिका गर्हौ भगवती मन्दिर चण्डेश्वरी मन्दिर विभिन्न कालिका मन्दिर लगायतका स्थलहरुलाई विशेष पर्यटकिय स्थलको रुपमा विकास गरिने लक्ष्य लिइएको जानकारी दिए ।
यसैगरी वडा नं ३ मा पूर्वाधार विकास सहितको एक उद्योगग्राम संचालनमा ल्याइने एवम् गार्मेट उद्योग, अदुवा प्रशोधन केन्द्र स्थापना गरिने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ । एक घर एक धारा खानेपानी योजना लाई निरन्तरता दिइने, कोभिड–१९ का कारण रोजगार गुमेका नागरिकहरुको लागि व्यवसायिक कृषि तथा पशुपालन मार्फत स्वरोजगारका कार्यक्रम संचालन गरिने पनि नीति कार्यक्रममा भनिएको छ ।
नगरप्रमुख अधिकारीले प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट उच्चदरको आर्थिक वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । नीति कार्यक्रमलाई नगरसभाले सर्बसम्मत पारित गरेको छ ।