हिमदुत सम्वाददाता
भीरकोट, ९ असार ।
चालु आर्थिक वर्षमा वालमैत्री नगरपालिका घोषणा गरेको स्याङजाको भीरकोट नगरपालिकाको आगामी वर्षको लागि नीति तथा कार्यक्रम वुधवार सार्वजानिक गरेको छ ।
नगरपालिकाका प्रमुख छाँयाराम खनालद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाले पर्यटकीय पूर्वाधार निर्माण गरी समृद्ध भीरकोटको अभियानलाई मुर्तरुप दिने योजना रहेको उनले जानकारी दिए ।
नीति तथा कार्यक्रममा धार्मिक तथा ऐतिहासिक महत्व वोकेको आँधीखोला किनारमा हरित सडक निर्माण कार्यलाई प्राथामिकतामा राखिएको छ । जसले समृद्ध भीरकोटको आधार कृषि पर्यटन आँधीखोलाको उपहार भन्ने नारालाई साकार पार्ने लक्ष्य लिइएको नगर प्रमुख खनालले जानकारी दिए ।
एक वडा एक रणनितिक सडक, उज्यालो भीरकोट अभियान, खानेपानी, सिँचाई, रोजगारीलाई प्राथामिकतामा राखिएको छ । बालमैत्री नगर घोषित भइसकेकोले कार्यन्वयनको पक्षलाई कडाइका साथ लागु गर्ने निति कार्यक्रममा उल्लेख छ ।
आँधीखोला नियन्त्रण, सूचना तथा प्रविधिको विकास, पर्यटन प्रर्वद्धन, एक वडा एक जेष्ठ नागरिक सेवा केन्द्र, मेयरसंग बालबालिका कार्यक्रम, सिप विकास, बालकोषको स्थापना, स्थानीय पाठ्यक्रम निर्माण, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको अभिवृद्धि गर्ने, क्षमता विकास, विद्यालयमा निशुल्क सेनेटरी प्याड वितरण, विपन्न वर्गको लागी निशुल्क स्वास्थ्य विमा कार्यक्रम, एक वडा एक खेलमैदान निर्माण गर्ने निति कार्यक्रममा उल्लेख छ ।
त्यस्तै जेष्ठ नागरिकको सम्मानमा अभिप्रेरित गर्न उत्कृष्ठ छोरा बुहारी सम्मान, महिला उद्यमशीलता, बाँझो जग्गाको उपयोग, सामुहिक चक्लाबन्दी खेति प्रणालीको विकास, एक वडा एक उत्पादन, मौरी ब्लक कार्यक्रम, होमिस्टेको प्रर्वद्धन, आँधीखोलामा जलयात्रा जस्ता कार्यक्रमहरु समेत निति कार्यक्रमले समेटेको छ ।
औद्योगिक ग्राम स्थापना, छाङछाङ्दी, स्वरेक मैदानको पुर्वाधार विकास, एकुवार, खिलुङ कालिका पदमार्ग, विपत प्रतिकार्य योजना, सुन्दरचौरमा बोटानिकल पार्कको निर्माण, करदाता प्रोत्साहन, डिजिटल प्रोफाईल निर्माण, विद्युतीय नागरिक बडापत्र, हरेक वडालाई प्रविधी मैत्री बनाईने समेत निति कार्यक्रममा समेटिएको छ ।
कार्यक्रममा नगर प्रमुख छायाराम खनालले भीरकोट नगरले सविधा सम्पन्न आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न गरि सेवा प्रवाह गरेको भन्दै फोहोरमैला संकलन केन्द्र, नदीजन्य निर्माण सामाग्री प्रशोधन केन्द्र समेत निर्माण गरी सन्चालन गर्न सफल भएको जानकारी दिए ।
कार्यक्रममा उपप्रमुख सीमा केसी कर्माचार्यले भीरकोटले सञ्चालन गरेको आधारभुत विद्यालयमा दिवा खाजा, गर्भवतीलाई निशुल्क अण्डा वितरण कार्यक्रम प्रभावकारी देखिएकोले कार्यन्वयन प्रभावकारी हुनुपर्ने वताइन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुषालले भीरकोटमा रहेको साहसिक प्याराग्लाईडिङ खेलको विकास लगायत यहाँ विकासका पूर्वाधार निर्माणमा दिर्घकालिन सोंचका साथ अगाडी वढनुपर्ने वताए ।
भीरकोट नगरपालिकाको आठौँ नगरसभा विहिवार सुरु हुने साथै नगर सभामा आगामी वर्षका लागि ६८ करोड वरावरको बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको भीरकोटका नगर प्रवक्ता दीपेन्द्र केसीले जानकारी दिए ।