चापाकोट, ६ असार ।
स्याङ्जाको चापाकोट नगरपालिकाले पर्यटकीय पूर्वाधार, हवाईमैदान, स्वास्थ्य र कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८र७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख शिवकुमार गिरीले समृद्ध चापाकोट निर्माणको लक्ष्य सहित स्थानीय सरकारको नीति तथा कार्यक्रम आइतवार सार्वजानिक गरेका छन् ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरी विकास योजना कार्यान्वयनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्देशित रहेको नगर प्रमुख गिरीले जानकारी दिए ।
दोस्रो लहरको कोरोना महामारीले आर्थिक तथा सामाजिक क्षेत्र प्रभावित भैरहँदा ल्याइएको नीति तथा कार्यक्रममा चापाकोट नगरबासीलाई छिटोभन्दा छिटो कोरोना खोपको व्यवस्था गर्ने देखि सहज र सर्वशुलभ उपचारको व्यवस्था मिलाइने कार्यक्रम समावेश गरिएको छ ।
भौतिक पूर्वाधारको विकास गरी चापाकोटको वृहत्तर विकास संगै चापाकोट नगरपालिका वडा न २ र ८ मा पर्ने मचेडाँडामा आन्तरिक हवाइमैदान निर्माण गर्ने विस्तृत परियोजना प्रतिवेदन (DPR) निर्माणको कार्यलाइ अगाडी वढाइने कार्यक्रम समावेश गरिएको छ ।
सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, सुविधा सम्पन्न बनाउँदै प्रत्येक वडाहरुमा वर्थिङ सेन्टर स्थापना, तत्कालै वडा नं. ४ को मल्याङ्ककोटमा र १ को कुवाकोटमा बर्थिङ् सेन्टर गरी चापाकोट र दार्शिङ अस्पतालमा कम्तिमा पनि १/१ वटा एम्बुलेन्सको व्यवस्था गर्ने र हरेक वर्ष घुम्ति स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने घोषणा नगरपालिकाले नीति तथा कार्यक्रम मार्फत् गरेको छ ।
चापाकोट नगरपालिकाको वडा नं १, २ र ३ लाई कागती खेती, वडा नं ४ लाई मेन्थावाली र सिताकेच्याउ वडा नं ५ लाई सुन्तला खेती, वडा नं ६ र ७ लाई केराखेती र वडा नं ८, ९ र १० लाई आलुवालीको व्यवसायिक पकेट क्षेत्रको रुपमा विकास गरिदै लगिने छ । वडा नं ९ को सुन्तलिटारमा आलु भण्डारणको लागि चिस्यान केन्द्र निर्माण गरिने छ र नगरपालीकालाई आलुमा आत्मनिर्भर वनाइने कार्यक्रम समावेश गरिएको छ ।
पशु आहार कार्यक्रम अन्तर्गत सवै वडाका कृषकहरुलाई व्यवसायिक गाईभैंसी पालन तर्फ आकर्षण गर्नको लागि भैसी सुत्केरी अनुदान प्रति सुत्केरी भैसी रु एक हजार रुपयाँ उपलब्ध गराउने नीतिको अवलम्बन गरिने छ ।
फोहोरमैला व्यवस्थापनको लागि आगामी आर्थिक वर्ष संघीय सरकारवाट विनियोजन भएको विशेष अनुदान रु २ करोड १६ लाख खर्च गरी नगरपालीकामा फोहरमैला व्यवस्थापन केन्द्रको स्थापना गरिनेछ । पदमार्ग निर्माण गरिनुपर्ने, धार्मिक स्थल, मठ मन्दीर संरक्षण, वाटो तथा पानीको व्यवस्था गरिने समेत समावेश गरिएको छ ।
चापाकोटको पर्यटन प्रवद्र्घनको लागि होमस्टेहरुको स्थापना र सञ्चालन गर्ने, व्यापक प्रचार प्रसार गर्ने, रामडाँडालाई विशेष पर्यटन क्षेत्रको रुपमा पर्यटन गुरु योजना बनाई बिकास गर्ने, राधाकृष्ण मन्दिर, शिव मन्दिर मणी मुकुन्देश्वर यी सवै धार्मिक स्थलहरुलाई समेटेर उत्तरगंगा धामको रुपमा विकास गर्न प्रवर्द्धनात्मक र प्रचरात्मक कार्य गर्ने, कालीगण्डकी नदिमा जल यातायात र जल पर्यटनको प्रवर्द्धन गर्ने साथै यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार(प्रसार गर्ने नीति अवलम्बन गरिने छ ।
चापाकोट नगरस्तरीय खानेपानी कार्यालय स्थापना गरी छरिएर रहेका समितिहरुलाई एकीकृत गरी चापाकोट विस्तृत खानेपानी योजनाको कार्यलाई अगाडी बढाइने कार्यक्रम समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
संविधानले प्रत्याभूत गरेका विषय वस्तुको मर्म र मान्यताअनुरुप कानूनको तर्जुमा गरी सङ्घ, प्रदेश र नगरपालिकाको आन्तरिक राजश्व तथा आयस्रोतका आधारमा सन्तुलित र पारदर्शी नीति तथा कार्यक्रम निर्माण गरिएको नगर प्रमुख शिवकुमार गिरीले जानकारी दिए । उनले भने, “नगरपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम निर्माण गरेको छ ।”
नगर केन्द्र र वडा केन्द्र जोड्ने सडक स्तरोन्नतिलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । नगरपालिकाको सिमित स्रोतको उच्चतम परिचालन गर्ने र आवश्यकताका आधारमा तत्काल गर्नुपर्ने योजनाहरुलाई प्रदेश सरकार र संघीय सरकारसंग ठूला योजनाहरु माग गरिएको जानकारी दिएका छन् ।
चापकोट नगरपालिकाको आइतवार सार्वजानिक नीति तथा कार्यक्रम नगरपालिकाको कार्यपालिकाको वैठकवाट निर्णय गरी सोमवार आयोजना गरिएको नवौं नगर सभावाट पारित हुने र आगामी आर्थिक वर्ष २०७८ ७९ का लागि बजेट विनियोजन गरिने समेत नगर प्रमुख शिवकुमार गिरीले जानकारी दिएका छन् ।
चापाकोट नगरपालिकाको नवौं नगर सभा सोमवार विहान ११ बजे आव्हान गरिएको छ ।