प्रदिप कोइराला
वालिङ–५, असार । वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७८/ ७९ को नीति तथा कार्यक्रम शुक्रवार वालिङ नगरपालिकामा सार्वजानिक गरेको छ । नगरपालिकाका मेयर दिलिप प्रताप खाँणले आगामी आर्थिक वर्षका लागि नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
स्मार्ट सिटीको पूर्वाधार निर्माणको चरणमा रहेको नगरपालिकाले सार्वजानिक गरेको नीति तथा कार्यक्रममा कोभीड–१९ लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवालाई पारदर्शी र थप ब्यवस्थित बनाउने, राष्ट्रिय मापदण्ड बमोजिमका आधारभूत स्वास्थ्य सेवाहरुलाई निशुल्क उपलब्ध गराउने, मासिकरुपमा प्रत्येक वडामा चिकित्सकहरुको ब्यवस्थासहित नागरिकको स्वास्थ्य परीक्षण गर्ने,नीति अगाडी सारेको छ ।
नगरपालिकाभित्र विशेषज्ञ सेवासहितको ५० शैयाको अस्पताल जतिसक्दो छिटो निर्माण गर्ने, नगरबासीलाई स्वास्थ्य बीमामा समेट्ने, शिक्षण अस्पतालको पूर्वाधार निर्माण कार्यलाई अगाडि बढाउने, सबै वडा केन्द्र, स्वास्थ्य संस्थामा कम्तिमा एक/एक वटा एम्बुलेन्सको ब्यवस्था गर्ने कार्यक्रम रहेको नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिए ।
यसैगरी स्वास्थ्यकै क्षेत्रमा गह्रौ प्राथमिक अस्पतालबाट मोबाईल हाईवे, टेलि सर्भिस, सर्भिस कार्ड लागू गर्ने, नगरभित्र पाठेघरको क्यान्सरको पहिचान तथा मिर्गौला परीक्षणको दायरा फराकिलो बनाई समयमै रोग पहिचान गरी रुग्णता दर र मृत्युदर कम गर्ने, नगरबासीलाई स्वास्थ्य बीमाको दायराभित्र समेटिने, विपन्न नागरिकलाई नगरबाटै बीमा गर्ने ब्यवस्था मिलाउने, बन्दाबन्दी तथा कोभिड १९ का कारणले रोजगारी गुमाएका ब्यक्तिहरुलाई लक्षित गरी राहत उपलब्ध गराउने, बर्थिङ सेन्टरहरुको विस्तार गर्ने लगायतका महत्वपूर्ण नीति तथा कार्यक्रमहरु रहेका छन् ।
वालिङलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडी वढेको नगरपालिकाले आगामी वर्ष पनि स्मार्ट सिटी, स्मार्ट भिलेजका पूर्वाधार निर्माणमा निरन्तरता दिएको छ । नगरपालिकाले सिद्धार्थ राजमार्गको स्तरोउन्नती र सडकको क्षेत्राधिकार भित्रका घर टहराहरु हटाउने र दुर्घटनामुक्त क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ नगरपालिकाले आगामी वर्षको कार्यक्रम निर्माण गरिने पनि जानकारी दिएका छन् ।
अगामी वर्ष वसपार्क निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने, सडकहरु स्तरोन्नति तथा कालोपत्रे गर्ने, सडकको छेउछाउमा बोटहरु लगाएर हरित शहरकोरुपमा विकास गर्ने, टेम्पोलाई ब्यवस्थित गर्ने, नयाँ बजार र नयाँ बस्ती विकासका लागि योजनाबद्ध विकास गर्ने, बायटारी देखि छाङ्छाङ्दीसम्म आँधीखोला करिडोर सम्पन्न गर्ने, वालिङ–ग्रहौंसुर–बाहुनथान केवलकारको संभाब्यता अध्ययन गर्ने नीति तथा कार्यक्रम रहेको छ ।
त्यस्तैगरी वालिङ नगरभित्रका १४ वटै वडाका घरहरुमा पिङ्क कलर अनिवार्य गर्ने, सुर्कौदीमा ब्यवस्थित शहर विकास गर्ने, एक घर दुई रुख तथा एक घर एक गमला अभियान सञ्चालनलाई प्रभावकारी बनाउने जस्ता नीति तथा कार्यक्रमहरु समावेश गरिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा कृषि तर्फ वडाका प्रत्येक गाउँलाई प्राविधिक तालिम उपलब्ध गराई एक गाउँ एक उत्पादन कार्यक्रम, एक घर एक रोजगारी सिर्जना गर्ने, एक घर एक टनेल कार्यक्रम, कृषिलाई ब्यवसायीकरण गर्ने, हाईटेक नर्सरी तथा पोर्टेबल शीतभण्डार स्थापना, टनेल तथा सरल थोपा सिञ्चाई जस्ता प्रविधिको विस्तार गर्ने, उत्पादनमूलक कार्यक्रममा सबैको सहभागिता र साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने, पशुपंक्षी र कृषिमा आत्मनिर्भर बनाईने कार्यक्रम रहेको नगर प्रमुख खाँणले जानकारी दिए ।
नगरपालिकाले स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिक उपयोग तथा उपलब्धताको उच्चतम परिचालन गरी विकासको गतिलाई तीब्र बनाउने, आर्थिक सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न संघीय सरकार प्रदेश सरकार र अन्तर पालिकाको साथै छिमेकी स्थानीय तहहरुसँगको सम्बन्ध बलियो बनाउने नीति रहेको छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा तर्फ स्थानीय पाठ्यक्रम लागू गर्ने, आवश्यकता अनुसार विद्यालय समायोजन गर्ने, प्रत्येक वडामा एउटा माध्यमिक विद्यालयलाई नमूना विद्यालय र ईनोभेशन सेन्टर खोल्दै लैजाने, अंग्रेजी माध्यममा सञ्चालन गर्न प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयको समग्र ब्यवस्थापन सुधारका लागि बायोमेट्रिक हाजिरीको ब्यवस्था गर्ने, विद्यालयलाई बालमैत्री र फरक क्षमता मैत्री बनाउने, सबै माध्यमिक तहमा सेनेटरी प्याडको प्रयोगलाई ब्यवस्थित बनाउन अटोमेटिक सेनिटरी प्याड मेसिन जडान गर्ने ब्यवस्था मिलाउने, स्मार्ट क्लब गठन गरी स्मार्ट सर्भिसका बारेमा जानकारी गराउने, कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको ब्यवस्था मिलाउन जस्ता कार्यक्रमहरु समावेश गरिएको छ ।
त्यस्तैगरी आन्तरिक आयमा सबल बनाउन राजश्वमा सुधार गरी सहज, सरल र दायरा फराकिलो बनाई सर्वसुलभ बनाउने, आन्तरिक आय बृद्धि गर्नका लागि राजश्वका करका विभिन्न क्षेत्रहरुको पहिचान गर्ने, गुनासो ब्यवस्थापनलाई प्रभावकारी बनाउने, भ्रष्टाचार अन्त्यका लागि गेटवे मार्फत भुक्तानीको ब्यवस्था मिलाउने, न्यायिक समितिलाई ब्यवस्थित र सर्वसाधारणको पहुँमा पु¥याउने लगायतका नीति तथा कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
शुक्रबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रमलाई असार १० गते बस्ने नगर सभाबाट अनुमोदन भएपछि मात्रै लागू गर्ने नगर प्रमुख खाँणले जानकारी दिए । कोभिडको महामारीका कारण नीति तथा कार्यक्रम बनाउनका लागि हामीले विभिन्न माध्यमबाट नागरिकहरु तथा धेरै समूहहरुसँग सल्लाह सुझावहरु माग गरिएको र सोही अनुरुप तयार गरिएको उनले वताए ।
यो नीति तथा कार्यक्रम हाम्रो मात्रै नभई, सर्वपक्षीय र सर्वदलीय पनि हो, नीति तथा कार्यक्रम सार्वजनिकीकरणसँगै नगरपालिकाको वेबसाईटमा राखिएको छ अध्ययन गरेर आवश्यक सल्लाह तथा सुझावहरु दिन पनि नगरबासी समक्ष अनुरोध गरेका छन् । नगरपालिकाले निर्माण गरेको नीति तथा कार्यक्रमलाई जति नागरिकको पहुँचमा पु¥याउन सक्यो त्यति नै अपनत्व बढेर जाने नगर प्रमुख खाँणले बताए ।