काठमाडौं । गएराति इन्द्रावती नदीमा आएको बाडीमा परी ७ जना वेपत्ता भएका छन् भने १ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
वेपत्तामध्य ५ जनाको पहिचान भएको छ भने २ जनाको पहिचान हुन सकेको छैन । मृतक १ जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ ।
बेलुकी ७ बजे मेलम्ची खानेपानिको मुहान रहेको नदीमा खसेको पहिरोले नदीको प्रवाह रोकिएर आएको बाडीले मेलम्ची बजारदेखि माथि रहेका क्षेत्रहरुमा व्यापक क्षति पुगेको छ ।
मेलम्ची र इन्द्रावति नदीमा आएको बाडीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारका घरहरूमा क्षति पुगेको छ। मेलम्ची बजार बगरमा परिणत भएको छ भने तटिय क्षेत्रमा रहेका मानव वस्ति, कृषि फार्म लगायतका संरचनाहरुमा क्षति पुगेको छ ।
यसैगरी नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुलमा क्षति पुगेको छ । मेलम्ची खानेपानिका कामदारहरु र केही स्थानमा मानिसहरु हराईरहेको आशंका गरिएको छ ।