हिमदुत सम्वाददाता
स्याङ्जा, २ असार ।
कोरोना संक्रमणले देश आक्रान्त अवस्थामा रहेको छ । संक्रमणलाई न्युनिकरण गर्न नेपाल सरकार र स्थानीय सरकारले गरेको निषेधाज्ञाको समय डेढ महिना पुगेको छ । यो स्वास्थ्य संकटका बेला सामाजिक संघसंस्था र विपदमा सहयोग गर्ने मनकारीहरु प्रायजसो स्वास्थ्य सामाग्री वितरणमा व्यस्त रहेका छन् ।
यो समयमा विपन्न वर्ग र दैनिक मजदुरी गरेर खाने वर्गको लागि भने खासै चासो दिएको पाईदैन कोभीड महामारीको यो समयमा खुमा अर्याल फाउण्डेशनले यी वर्गको मर्का बुझ्दै फाउण्डेशनको तर्फवाट डा. लुना अर्यालले राहत सामाग्री सहित वालिङ १ को माझी वस्तीमा पुगेकी छन् ।
समाजको शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद लगायतका क्षेत्रमा आर्थिक, भौतिक र सामाजिक सेवा गर्दै आएको खुमा अर्याल फाउण्डेसनले दैनिक मजदुरी गरेर खाने वर्गका लागि यो निषेधाज्ञाले खाद्यान्नको अभाव भएको खबर पाएपछि त्यस्ता बस्तीमा पुगेर खाद्यान्न वितरण गरेको छ ।
स्याङ्जाको वालिङ नगरपालिका १ मा रहेको माझी बस्तीमा फाउण्डेसनले खाद्यान्न सामाग्री वितरण गरेको हो । जिल्लामा संक्रमितको संख्या बढ्दै जादा प्रशासनले निषेधाज्ञा थप गरिरहेको छ । यसबाट दैनिक मजदुरी गरेर खाने वर्ग खाद्यान्नको चपेटामा परेको खबर पाएपछि एक महिनालाई पुग्ने चामल, नुन, तेल लगायत खाद्यान्न सामाग्री सहयोग गरेको फाउण्डेसनका संरक्षक डा. लुना अर्यालले बताइन् ।
जिल्लाको समग्र विकासमा फाउण्डेसनको सहयोग रहने बताउदै डा.अर्यालले पहिलो र दोस्रो कोभिड संक्रमणमा हरेक स्वास्थ्य चौकी देखि अस्पतालमा कोभिड उपयोगी स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको बताइन ।
कमाउने मात्रै ठुलो कुरा नभएको तथा दिनदुखीको सहयोगमा साथ दिनु नै सामाजिक उत्तरदायीत्व हो भन्ने फाउण्डेसनको उदेश्य रहेको डा.अर्यालको भनाई छ । बेसाहाराका लागि साहारा भन्ने ध्येय रहेको उल्लेख गर्दै डा.अर्यालले स्वास्थ्य उपचारमा कठिनाई भएमा पनि फाउण्डेसनले सहयोग गर्ने प्रतिवद्धता व्याक्त गरिन।
फाउन्डेसनको सहयोगमा १५ घरका माझी समुदायलाइ खाद्यान्न सामाग्री वितरण गरिएको वालिङ नगरपालिकाका नगर प्रवक्ता तथा वडा अध्यक्ष केदार काफ्लेले बताए । फाउण्डेसनले माझी समुदायलाई खाद्यान्न सहयोग गरी उनीहरुको दैनिकीमा खाद्यान्नको अभाव हुन नदिने गरी गरेको सहयोग प्रती आभार समेत व्यक्त गरे।
फाउण्डेसनले जिल्लाका ११ ओटै पालिकामा त्यस्ता बस्तीको खोजी गरि खाद्यान्नको अभाव हुन नदिने गरी अगाडी बढेको जनाएको छ । अत्यन्तै विपन्न वर्ग र दैनिक मजदुरी गर्ने वर्गलाइ जुनसुकै सहयोग गर्न तयार रहेको फाउण्डेसनका अध्यक्ष कमल ढकालले जानकारी दिए ।