स्याङ्जा, २ असार ।
नेपाली कांग्रेस वडा कार्य समिति बिरुवा गाउँपालिका ४ स्याङ्जाले कोभीडवाट प्रभावित परिवारका लागि खाद्यान्न तथा औषधी सहयोग गरेको छ ।
कांग्रेसको वडा समितीले साबिकको ओरष्टे गाविस भित्र रहेका गरिब तथा विपन्न परिवार र कोरोनाका कारण सरकारले जारी गरेको निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरेर खाने परिवारलाई गत शनिबार राहत उपलब्ध गराएको जनाएको छ ।
पालिकाको ४ नम्बर वडा भित्र रहेको २ सय ५० घरलाई खाद्यान्न वितरण गरेको नेपाली कांग्रेस स्याङ्जाका प्रदेश सचिव डोलराज पोखरेलले जानकारी दिए । खाद्यान्नमा चामल, तेल, दाल र नुन वितरण गरेको प्रदेश कार्य समिति सदस्य नरेश पोखरेलले बताए । कोरोना महामारीको समयमा गाउँमा सचेतना जगाउँदै भिटामिन ‘सि’, सिटामोल, मास्क र हातधुने साबुन समेत वितरण गरिएको वडा इकाइ सभापति मुक्त गुरुङले जानकारी दिए ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य चन्द्रकान्त पोख्रेलले महामारीको समयमा वडा इकाइ समितीले सराहनीय काम गरेको उल्लेख गरे । बिरुवा ४ घर भई पोखरा लगायत देशको विभिन्न सहरमा बस्ने साथै विदेशमा रहेकाले दुखको बेला गाउँलाई सम्झिएको मा नेपाली कांग्रेस वडा कार्य समिति बिरुवा गाउँपालिका उपसभापति नारायण पोखरेलले धन्यवाद् दिए । वडा इकाइ सभापति ऋषिराम शर्माले आगामी दिनमा पनि वडाबासीबाट सहयोगको अपेक्षा गरे ।
वडा ४ मा दैनिक मजदुरी गरेर जीवन चलाउनेलाई लकडाउन पछि आफ्नौ दैनिकी खानपानमा समस्या भएको महशुस भएपछि सहयोग जुटाई राहत सामाग्री वितरण गरिएको सचिव ज्योति प्रकाश थापाले जानकारी दिए ।