काठमाडौं । एउटै कार्यकालको छोटो अवधिमा दुई पटक विघटनको मार खेपेका प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दैछन् ।
संसद विघटन पछि विभिन्न कानूनविद् तथा संवैधानिकविदसंग परामर्श गरेका सापकोटाले संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको सभामुखको सचिवालयले जनाएको छ । सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गर्न बैठक बोलाएका हुन् ।
गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले उक्त कदमको विरोध जनाइसकेका छन् ।
सापकोटाले २०४८ साल यता सभामुख भएका दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरालाई परामर्शकोलागि बोलाएका छन् ।
संसद विघटनको विरोध गर्दै १४६ सांसदले सोमबार सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरिसकेका छन् ।