काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनमा विजयी भएका खिमलाल देवकोटाले आफूले स्वतन्त्र उम्मेदवारी दिएरै जितेको बताएका छन् । निर्वाचनमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले मतदाताको विश्वासप्रति कहिल्यै आघात नपुर्याउने प्रतिबद्धता जनाए ।
‘मेरो स्वतन्त्र उम्मेद्वारीमा सबैले सहयोग गर्नु भएको हो,’ उनले भने, ‘मेरो विजय संविधान र संघीयता पक्षधरको विजय हो । म निरन्तर वित्तिय संघीयताको पक्षमा, स्थानीय तहको पक्षमा र प्रदेशको पक्षमा लागेको भएर सहयोग गर्नु भएको हो । उहाँहरूको विश्वासप्रति आघात पर्ने काम गर्दिनँ ।’
देवकोटाले ५ हजार ८८ मतभार पाएका छन् । त्यस्तै गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले ४ हजार १४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।