हिमदुत सम्वादाता
स्याङ्जा, ४ जेठ ।
गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्ल पितृ शोकमा परेका छन् । साँसद मल्लका पिता नेपाली काँग्रेस स्याङ्जाका महासमिती सदस्य, पूर्व जिल्ला कोषाध्यक्ष तथा समाजसेवी गजिन्द्र प्रकाश मल्लको ७४ वर्षको उमेरमा मंगलवार साँझ निधन भएको हो । उनको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
पञ्चायत कालदेखिनै काँग्रेसको सक्रिय राजनीतिमा रहेका मल्ल प्रजातन्त्रको लागि पार्टीमा योगदान गरेका अग्रज कार्यकर्ता हुन । स्वर्गीय मल्ल तत्कालिन निरंकुश शासन व्यवस्थाका विरुद्ध नागरिक स्वतन्त्रताका पक्षमा आवाज उठाउदा प्रतिवन्धित अवस्थामा तत्कालिन शासकवाट जेल सजाय समेत भोगेका मल्ल पछिल्लो समय नेपाली काँग्रेस स्याङ्जाको अभिभावकको भूमिकामा थिए ।
क्यान्सर रोगवाट पीडित मल्ल झण्डै डेढ वर्ष अघिवाट नियमित औषधी सेवन गरिरहेका थिए । क्यान्सर रोगलाई जितेका मल्ल अहिले कोरोना संक्रमण देखिएका कारण अस्पताल भर्ना भएका थिए । स्वर्गिय मल्ल दुई पटक जिल्ला विकास समितीको सदस्य, निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य, निर्माण व्यवसायी संघ स्याङ्जाका संस्थापक अध्यक्ष लगायतका विभिन्न सामाजिक क्षेत्रमा नेतृत्व गरेका समाजिक व्यक्ति हुन् ।
चापाकोट नगरपालिका वाड नं ५ निवासी मल्ल विगत ३५ वर्षदेखि स्याङ्जा सदरमुकाम पुतलीबजारमा बसोवास गर्दै आइरहेका थिए । क वर्गको निर्माण व्यवसायी समेत रहेका मल्लका प्रदेश साँसद भागवत प्रकाश मल्ल सहित ३ छोरा, श्रीमती र एक छोरी सहित दर्जन वढी नाति नातिना छन् ।
स्वर्गिय मल्लको अन्तिम दाहसंस्कार भोलि बिहान ९ बजे रामनधी धाम राम्दीमा हिन्दु परम्परा अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार गरिने साथै काजकिरिया सनातन परम्परा अनुसार पुतलीबजार ११ करेण्डडाँडा हेल्थपोष्ट नजिकै गरिने नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापती कुमार रानाले जानकारी दिएका छन् ।
मल्लको निधनवाट नेपाली काँग्रेसलाई अपुरणीय क्षति पुगेको भन्दै नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापती कुमार रानाले शोक बक्तव्य मार्फत स्वर्गिय मल्लको वैकुण्ठ बासको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । मल्लको निधनको खवर प्रप्त भएपछि नेपाल सरकारका कृर्षि मन्त्री पद्मा अर्याल, पूर्व मन्त्री गोपालमान श्रेष्ठ, साँसद मोहन पाण्डे, संविधान सभा सदस्य धनराज गुरुङ, राजु थापा लगायतले विभिन्न सामाजिक संजाल मार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
यसैविच स्वर्गिय मल्लको निधनवाट स्याङ्जाका एक बरिष्ठ समाजसेवी गुमाउनु परेको दुख व्यक्त गर्दै नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले पनि स्वर्गिय मल्लको वैकुण्ठ बासको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन् ।