काठमाडौँ – नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष महन्थ ठाकुर एवं वरिष्ठ नेता राजेन्द्र महतोबीच कुराकानी जारी छ।
गठबन्धन सरकार गठनका लागि राष्टपतिले दिएको समय बिहीबार बेलुका ९ बजेसम्म रहेको अवस्थामा देउवाले नयाँ सरकार गठनका लागि छलफल तीव्र बनाएका हुन्।
जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष देउवालाई समर्थन गर्न तयार भइसकेको अवस्थामा ठाकुुर र महतोले नमान्दा बहुमत पुग्नबाट रोकिएको छ। बुढालिनकण्ठ स्रोतका अनुसार तीन नेताबीच छलफल भइरहेको छ।
एमालेको माधव नेपाल पक्षले संसदबाट राजीनामा दिए वा ठाकुर पक्षले समर्थन गरेको अवस्थामा देउवाको नेतृत्वमा सरकार गठन हुने हुँदा दुवै योजना सफल बनाउन कांग्रेस नेताहरु सक्रिय भएका छन्।
नेपाल पक्षले राजीनामा दिने संभावना कम हुँदै गएको अवस्थामा ठाकुरलाई मनाउन कोसिस भइरहेको देउवा निकट एक नेताले बताए।
ठाकुरसँग कांग्रेसका नेताहरुले बुधबार पनि चरण चरणमा कुराकानी गरेका थिए। देउवाका प्रतिनिधिका रुपमा साँझ नेता बालकृष्ण खाँड र ज्ञानेन्द्र कार्कीले ठाकुरसँग अनामनगरस्थित एक घरमा भेटवार्ता गरेका थिए।
ठाकुरसँग वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बिहीबार बिहान टेलिफोनमा कुराकानी गरेका थिए।
उक्त भेटघाटमा ठाकुरले आफूहरु तटस्थ बस्ने निर्णयमा पुगिसकेको जवाफ दिए पनि बिहीबार फेरि देउवा आफैँले कुुराकानी गरेका हुन्।
ठाकुरले समर्थन गरेको अवस्थामा राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दावी गर्ने तयारी देउवाले गरेका छन्।
विपक्षी गठन्धनले १२४ मत देखाइसकेको अवस्थामा ठाकुरले समर्थन गरे उनीसँग रहेका १५ जनाले सहयोग गरे बहुमतमा लागि चाहिने १३६ सांसद सजिलै पुग्ने अवस्था छ।