काठमाडौँ । कोभिड-१९ को संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाले डरलाग्दो रुप लिएको भन्दै लकडाउनलाई थप कडाई गर्ने भएको छ । शुक्रबार बसेको बैठकले हिडडुलमा रोक लगाएर थप कडाई गर्ने निर्णय गरेको हो ।
बैठकले बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू एक चौथाई मात्र कर्मचारी राख्न र अन्य निर्माण कार्य ठप्प पार्ने निर्णय लिएको छ । उनीहरूलाई कार्यालयमा खान बस्नको व्यवस्था गर्नुपर्ने र बाहिर हिँडडुलमा व्यापक रोक लगाउने जस्ता निर्णय गरेको छ ।
त्यस्तै बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने मन्त्रिपरिषद्लाई सिफारिस सिफारिश गरेको छ ।
त्यस्तै उक्त बैठकले हरेक प्रदेशमा एक मन्त्रीलाई कोभिड-१९ को व्यवस्थापन नियाल्ने जिम्मेवारी तोक्ने र समन्वय गर्ने पनि निर्णयका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्ने भएको छ । अक्सिजनमा हुने कालोबजारीलाई रोक्ने र होटल क्वारेन्टाइनलाई थप व्यवस्थित गर्ने विषयमा पनि निर्णय भएको छ ।
सीसीएमसीले काठमाडौँ उपत्यकाका सरकारी अस्पताललाई थप व्यवस्थित गर्दै लैजाने र कोभिडको उपचार गर्न स्थान छुट्याएर काम गरिने र त्यसले अपुग भए मा निजी अस्पतालालई पनि कोभिड अस्पतालको रुपमा उपयोग गर्ने निर्णय गरेको छ ।