काठमाडौं । सरकारले पूर्वमाओवादी लडाकु सहित ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान गरेको छ । माओवादी सशस्त्र युद्ध, ०६२/ ६३ को जनआन्दोलन र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु तथा १७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई लोकतन्त्रका योद्धाको रुपमा सरकारले सम्मान गरेको हो ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र दिए ।
०६२ /६३ को जनआन्दोलनका जिउँदो शहिद भनेर चिनिएका मुकेश कायस्थलाई भने काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दोसल्ला र प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रमा लोकतन्त्रका योद्धा अभिलेखिकरण तथा सम्मान समितिका संयोजक एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले योद्धालाई सम्मानको शुरुवात मात्रै गरिएको र ७७ वटै जिल्लामा सम्मानित गरिने जानकारी दिए ।
जिल्लामा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति’ गठन गरिएको छ ।