वालिङ, ६ माघ । वालिङ नगरपालिकाका कोभिड प्रभावित कृषक तथा नवउद्यमीहरुलाई उन्नत जातको लहरेबालीको बीउ तथा कृषि औजार हस्तान्तरण गरिएको छ ।
वालिङ नगरपालिका र युनडिपीको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत वालिङ नगरपालिकाभित्रका कोभिड प्रभावित कृषकहरुलाई उन्नतजातका काक्रा, करेला, घिरौला, लौका, खुर्सानी, फर्सी लगायतका बीउबिजन तथा टनेल, च्याउ प्लास्टिक आदि हस्तान्तरण गरिएको हो ।
बीउबिजन तथा सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख दिलीपप्रताप खाँणले उत्पादनलाई बजारीकरण गर्न व्यवस्थित च्यानलको सुरुआत गरिएको जानकारी दिए । उनले भने “गाउँगाउँमा उत्पादित बस्तुहरु अव सहज रुपमा बजार सम्म पुग्नेछन् ।” कोभिडको प्रभावबाट सुरक्षित रहँदै व्यवसायिक उत्पादनतर्फ लाग्न नगर प्रमुख खाँणको सुझाव छ । नगर प्रमुख खाणले भने , “तपाईहरुले उत्पादन गर्नुहोस् बजारको जिम्मा हामीले लिन्छौं ।”
नगरपालिकाले साझेदार संस्थासँग मिलेर सुरक्षित तरिकाबाट उत्पादित बस्तुहरु टिप्ने र बजारसम्म पुर्याउने गरी कृषकहरुलाई तालिम प्रदान गर्न लागिरहेको प्रमुख खाँणको भनाई थियो । कोभिडको कारण विश्वमा खाद्य संकट पर्न सक्ने भन्दै नगर प्रमुख खाँणले उत्पादनको अवस्था बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले गाउँगाउँमा उत्पादन हुने बस्तुहरुलाई सहजरुपमा बजारसम्म पुर्याइने बताइन । उनले भनिन् , “कोरोनाको प्रभावका कारण मारमा परेका कृषकहरुलाई राहत पुर्याउन बीउ बिजन तथा सामग्री वितरण गरिएको हो ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कोभिड प्रभावित कृषकहरुलाइ सहयोग गर्न र उनीहरुलाई आर्थिक रुपममा सबल बनाउनका लागि नगरपालिका सदैव कृषकको साथमा छ भन्ने बुझ्न पनि आग्रह गरे ।
युएसएआईडी सुआहाराका गण्डकी प्रदेश प्रमुख याम जिसीले अव सबै उत्पादनमा जोडिनुपर्ने भन्दै गाउँ गाउँमा उत्पादनको लहर ल्याउनुपर्ने बताए । कार्यक्रमको उद्देश्यबारे जानकारी दिदै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले उत्पादन र उत्पादकत्व बढाउने गरी काम भईरहेको जानकारी दिइन । उनले कोभिड प्रभावितलाई स्वरोजगार र उद्यमी बनाउने गरी नगरपालिकाका १४ वटै वडामा काम भईरहेको स्पष्ट पारिन । युएसएआईडी सुआहाराका कृषि विज्ञ अर्जुन सुबेदीले बीउ बिजन राख्ने तरिकाकाबारेमा जानकारी गराएका थिए।
कार्यक्रम अन्तर्गत ३० वटा सामूहिक खेतीका लागि सहकारीहरु तथा लाभग्राहीको सूचीमा रहेका ४० जना कोभिड प्रभावितहरुलाई बिभिन्न जातका बीउ बिजन वितरण गरिएको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिए । उनले गाउँगाउँमा कृषि प्राविधिकको सहयोगमा व्यवस्थित नर्सरी बनाईने समेत बताए ।
परियोजना अन्तर्गत कोभिड प्रभावित कृषकहरुलाई उनीहरुकै मागका आधारमा विभिन्न सामग्रीहरु प्रदान गरिँदै आएको दियालो युएनडिपी नेपालका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिए ।उनले कृषक तथा नवउद्यमीको मागका आधारमा विभिन्न प्रकृतिका सीपमूलक तालिमहरु सञ्चालन भईरहेको बताए ।