काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने भनेको भनाइ सर्वोच्च अदालतको इजलासमा पुगेको छ ।
अधिवक्ता दिनमणि पोखरेलले नेम्वाङले संसद सचिवालयकको स्मारिकामा दिएको अन्तर्वार्ताको विषय सोमबारको इजलासमा पढेर सुनाएका हुन्।
स्मारिकाको अन्तर्वार्तामा नेम्वाङले विगतको भन्दा अहिलेको संसदीय प्रणाली फरक रहेको र अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताएका छन्।
पोखरेलले इजलासमा भने- मौकामा बोलेको त प्रमाण लाग्छ नि श्रीमान्।
नेम्वाङको अन्तर्वार्तामा भनेको कुराले संविधान सभाको ‘इन्टेन्सन’ देखाउने बताउदै पोखरेलले भने ‘यो कुरा सुवास नेम्वाङले भनेको होइन। संविधान सभाको चेयर पर्सनले भनेको हो।’
नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको विषय गत २०७६ साल साउन ४ गते पत्रकारलाई प्रशिक्षण दिँदासमेत उल्लेख गरेका थिए। उनले प्रधानमन्त्रीले ‘संसद विघटन गर्न सक्दैन’ भनेका थिए।