काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । सर्वोच्चको गत शुक्रबारको आदेशअनुसार आइतबारदेखि प्रतिनिधिसभा विघटनको निवेदनमाथि निरन्तर सुनुवाइ हुँदै छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश गरेर बहस सुरु भएको हो । सुनुवाइ लगातार हुने सर्वोच्च प्रशासनले जनाएको छ ।
आइतबार निवेदकका तर्फबाट बहस सुरु भएको हो । सुरुमा निवेदक अधिवक्ता सन्तोष भण्डारीले बहस गर्दै छन् । त्यसपछि सरकारी पक्षले निर्णयको प्रतिरक्षा गर्नेछ । अनि मुद्दा हाल्ने निवेदकहरूका तर्फबाट फेरि जवाफ दिइनेछ ।
अदालतका सहयोगीहरूले पनि यही क्रममा आफ्नो राय दिनेछन् । इजलासले निश्चित समय तोकेर दुवै पक्षका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्न आदेश दिन सक्छ । त्यसपछि निश्चित अवधि राखेर इजलासले प्रतिनिधिसभा विघटन संविधानसम्मत थियो वा थिएन भन्ने निर्णय सुनाउनेछ ।