एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले संसद भवन क्यापिटलमा पसेर हङ्गामा गरेका छन्।
अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो।
सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टन डीसीमा कर्फ्यु लगाइएको छ । स्थानीय समयअनुसार बुधबार साँझदेखि बिहीबार बिहानसम्म कर्फ्यु लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
क्यापिटल हिल्समा हिंसा मच्चाएको आरोपमा प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ । वासिङ्टन डीसी महानगरीय प्रहरीका अनुसार ५ थान बन्दुक पनि बरामद गरिएको छ । प्रहरी प्रमुख रोबर्ट कोन्टीका अनुसार पक्राउ पर्ने व्यक्तिहरु डीसी क्षेत्रका भने होइनन् । उनले झडपमा घाइते भएकाहरुको उपचार भइरहेको पनि बताएका छन् ।
एक महिलाको मृत्यु
बुधबार साँझ वासिङ्टन डीसीमा भएको झडपमा परी एक महिलाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार झडपमा प्रहरीको गोली लागी एक जना महिला घाइते भएकी थिइन् । स्थानीय अस्पतालमा उपचाररत उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन्। अवस्था नियन्त्रण बाहिर गएपछि न्याशनल गार्डलाई क्यापिटल हिल पठाइएको छ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीट गरेर त्यसको जानकारी दिएकी हुन्।
उनले ट्वीटमा लेखकी थिइन्, ‘राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा न्याशनल गार्ड अन्य संघीय रक्षा सेवाहरूका साथमा बाटोमा छन्। हामी हिंसाविरुद्ध र शान्ति कायम राख्नका लागि राष्ट्रपतिको आग्रह पुनस् दोहोर्याउँछौँ।’
क्यापिटल भित्र भिड अनियन्त्रित र हिंसक भएपछि क्यापिटल हिल प्रहरीले थप सुरक्षाबल पठाउन माग गरेको थियो।