स्याङ्जा, १६ असोज ।
विरुवा गाँउपालिकाले नागरिकको प्राथमिक स्वास्थ्य सेवालाई सहज बनाएको छ । प्राथमिक उपचारका लागि सदरमुकाम मात्रै होइन प्रदेशकै राजधानी धाउन बाध्य ग्रामिण क्षेत्रका नागरिकलाई गाँउमै प्रथामिक उपचार हुने व्यवस्था गाँउपालिकाले मिलाएको छ ।
स्वास्थ्य नीति नै ग्रामिण मुखी हुनुपर्ने प्रावधानलाई मध्यनजर गरेर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुलराज सुवेदीले जनप्रतिनिधिहरुसगँ आग्रह गरेपछि वडा नं। २ मा सामुदायीक स्वास्थ्य केन्द्र संचालनमा आएको छ ।
गाउँपालिकाको अर्थले भञ्ज्याङमा संचालन गरिन लागेको सामुदायीक स्वास्थ्य केन्द्रको उद्घाटन गाउँपालिकामा अध्यक्ष चुनप्रसाद शर्माले गर्दै यो स्वास्थ्य केन्द्रको सञ्चालनसँगै वडा न २ निवासीहरु साधारण स्वास्थ्य समस्यामा पनि गाउँपालिकाको केन्द्र बिरुवा बजार वा जिल्ला सदरमुकाम स्याङजा भन्दा बाहिर जानुपर्ने बाध्यता हटेको बताए ।
नेपाल सरकारको संघीय अनुदान मार्फत गत साल देखि नै वडा नम्बर ७ र वडा नम्बर २ मा सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माणको चरणमा रहेको उनले बताए । गाउँपालिकाले ती भवनहरूको निर्माण सम्पन्न नहुँदै भाडाका घरमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह गर्ने प्रवन्ध मिलाएको अध्यक्ष शर्माले जानकारी दिए ।
बिरुवा गाउँपालिकाका दुई वटा वडाहरुमा स्वास्थ्य संस्थाहरु नरहेको र उक्त समस्याको समाधान यसै आर्थिक वर्षभित्रै हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले दावी गरे । दशैं अगाडि नै दुवै वडाहरुमा स्वास्थ्य केन्द्रहरू सुचारु हुने र यसै आर्थिक वर्षभित्र उक्त संस्थाहरु आफ्नै भवनमा सञ्चालन हुने सुवेदीले बताए । यस सँगै जनताको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा बाट वडाबासीहरु वञ्चित रहने अवस्था समाप्त हुने विश्वास व्याक्त गरे ।
वडा नम्बर २ का वडाध्यक्ष बुद्धिबहादुर आलेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव खिम बहादुर गुरुङलेले गरेको कार्यक्रमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले अर्चलेबासीहरु को पञ्चायतकालदेखिको सपना पुरा गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका थिए ।