गल्याङ, १५ असोज ।
दुध उत्पादनमा उल्लेख्य प्रगति गरेको गल्याङ नगरपालिकाले दुग्ध संकलन केन्द्रमा प्राविधिकको टोली मार्फत पशुहरुको स्वास्थ्य परिक्षण गरिएको छ । गल्याङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा दुग्ध संकलन केन्द्रमा पुगेर किसानले पालिरहेका पशुहरुको स्वास्थ्य परिक्षण गरिएको नगरपालिकाले जनाएको छ ।
विभिन्न १६ वटा दुग्ध संकलन केन्द्रमा पशुहरुको परिक्षण गर्ने क्रममा गल्याङ नगरपालिका वडा नम्बर ११ दिमिकमा मंगलबार पशुहरुको परिक्षण गरिएको छ । किसानलाई प्राविधिक परामर्श सहित पशुको गोबर तथा अन्य समस्याहरुको बारेमा सम्बन्धित ठाउँमानै पुगेर परिक्षण गरिएको पशु शाखा प्रमुख सुशिल अर्यालले जानकारी दिए ।
दिमिक दुग्ध संकलन केन्द्रमा एक सय भन्दा बढि किसानका दुई सय भन्दा बढि पशुको परिक्षण गरिएको अर्यालले जानकारी दिए । यसैगरी अन्य दुग्ध संकलन केन्द्रमा पनि नियमित रुपमा पशुहरुको अवस्था परिक्षणको काम जारी रहने उनले जानकारी दिए ।
गल्याङ नगरपालिकाका पशु चिकित्सक डा. अनिस सापकोटा, पशु प्राविधिकहरु डिल्लीराम अर्याल, शिब सुबेदी सहितका कर्मचारीहरु परिक्षणका क्रममा सहभागी रहेका थिए । दुध उत्पादनमा उत्साहित ढंगले लागेका किसानहरुलाई थप सहयोग गरी अझै हौसला प्रदान गर्नका लागि टोलमानै पुगेर पशुको उपचारमा संलग्न भएको प्राविधिकहरुको भनाइ छ ।
गल्याङ नगरपालिकामा दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिएपछि किसानहरु दुध उत्पादनमा उत्साहित भएर लागेका छन् । साथै व्यवसायिक ढंगले पशुपालन गर्नेहरुको संख्या पनि वर्षेनी वढेको अनुमान छ ।
तीन वर्ष अगाडि दुध तथा दुध जन्य पदार्ध आयात गर्नुपर्ने गल्याङमा हाल आन्तरिक खपत पुरा गरी दैनिक करिब तीन हजार लिटर दुग्ध विकास संस्थान मार्फत बाहिर बजारमा पठाउने गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद पाण्डेले जानकारी दिए ।
दुधको शहरको रुपमा अगाडी वढाइएको नगरपालिकामा पशुपालक कृषकको अवस्था र उनीहरुको गुनासो अनुसार नगरपालिकाले तत्काल समन्वयकारी भूमिका निर्वाह गरिरहेको पाण्डेले जानकारी दिए ।