गल्याङ, १ साउन ।
स्याङ्जाको गल्याङ नगरपालिकामा पशुपालन गर्ने कृषकलाई एक करोड रुपैयाँ अनुदान वितरण गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट कृषकलाई एक करोड रुपैयाँ बजेट अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
अनुदान वितरण गदै नगर प्रमुख भुपराज अधिकारीले कृषि क्षेत्रको विकास किसान विना सम्भव नभएकाले कृषकहरुलाई पशुपालनलाई उत्पादन संग जोडन अनुदानको कार्यक्रम ल्याएको वताएका छन् । नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रमा विशेष अनुदान मार्फत कृषकहरुलाई कृषि पेशामा उत्साहित गराउन विशेष कार्यक्रमहरु राखेको जानकारी दिएका छन् ।
नगर प्रमुख अधिकारीले किसानले उत्पादन गरेका वस्तुले मात्रै मानव जीवन रहने भएकाले किसाननै सर्वश्रेष्ठ रहेको उल्लेख गरेका छन् ।
गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले किसानलाई उत्पादनका आधारमा अनुदान दिने व्यवस्थाका लागि नगरपालिकाले विशेष योजना बनाएको वताए । कृषि क्षेत्र र पशुका लागि नगरपालिकाले आवश्यक मात्रामा बजेटको व्यवस्था गरेको जानकारी दिए ।
पशु शाखा प्रमुख सुशिल अर्यालका अनुसार अनुदान मध्ये धेरै रकम गाई भैंसीका लागि गएको छ । भन,े दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानका लागि सबै भन्दा धेरै ४८ लाख रुपैयाँ सहित गाई भैंसीका लागि ७५ लाख रुपैयाँ बजेट अनुदानको क्रममा वितरण गरिएको जानकारी दिए ।
नगरपालिकाले ल्याएको दुध विक्रिको हिसावमा दिईने अनुदानमा चार सय भन्दा बढि परिवार लाभान्वित भएका छन् । नगरपालिकाले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको थियो ।
यस्तै, पशु धन विमा कार्यक्रममा साना ठूला गरी २३ सय परिवार लाभान्वित हुँदा दश लाख रुपैयाँ नगरपालिकाले अनुदान वितरण गरेको छ । तीन सय घर परिवारका लागि १२ लाख ८४ हजार भन्दा बढि ऋणमा अनुदान वितरण गरिएको पशु शाखा प्रमुख अर्यालले जानकारी दिए ।
यस्तै, बंगुरपालन व्यवसायमा ३३ वटा समूह तथा फर्मका लागि दश लाख रुपैयाँ अनुदान वितरण गरिएको छ ।
यसैगरी, बाख्रापालन तर्फ ७२ वटा फर्म तथा समूहका लागि १५ लाख रुपैयाँ अनुदान वितरण भएको छ भने दुई वटा कुखुरा फर्मका लागि एक लाख ४० हजार रुपैयाँ वितरण गरिएको छ । यस्तै, दुध संकलन तथा क्षमता विस्तार कार्यक्रममा दुई वटा फर्मलाई दुई लाख रुपैयाँ वितरण गरिएको छ । भने घाँस विकास कार्यक्रम अनुसार तीन सय घर परिवारका लागि तीन लाख रुपैयाँ वितरण गरिएको छ ।
यसैगरी, एक सय ५० पशुको थुनेलो नियन्त्रण कार्यक्रमका लागि ६७ हजार रुपैयाँ तथा दुई सय वटा पशुमा कृतिम गर्भाधान सेवाका लागि दुई लाख रुपैयाँ नगरपालिकाले अनुदान वितरण गरेको छ ।
नगरपालिकाका वडा नम्बर २, ४, ८ र दशमा गोबर परिक्षण, बन्ध्याकरण सेवा, खोप सेवा र त्यसका लागि सामाग्री खरिदमा नगरपालिकाले निशुल्क अनुदान वितरण गरेको छ ।
दुधालु पशुका लागि ५२ वटा फर्ममा फार्म सुधार कार्यक्रम अन्तर्गत १३ लाख रुपैयाँ र ७० प्रतिशत अनुदानमा नगरपालिकाले ४२ वटा फर्मलाई यान्त्रीकरण कार्यक्रमका लागि ११ लाख वितरण गरेको छ ।
नगरपालिकाले कृषि तथा पशुका लागि आवश्यकताका आधारमा थप रकम अनुदानको व्यवस्था गर्ने तय गरेको पशु शाखा प्रमुख अर्यालले जानकारी दिए ।