काठमाडौं, १० फागुन ।
अमेरिका र विद्रोही लडाकू समूह तालिवान बीच अर्को साता शान्ति सम्झौता हुने भएको छ ।
अफगानिस्तानमा हिंसा घटाउने सहमतिका आधारमा फेब्रुअरी २९ मा तालिबानी समूहसँग सम्झौता गर्ने तयारी भइरहेको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले जानकारी दिएका छन् ।
शान्ति सम्झौताको आधार तयार गर्ने क्रममा तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले शनिबार देखि नै हिंसात्मक गतिविधिलाई रोक्ने सहमति भएको बताइएको छ ।
सम्झौताले अफगानिस्तानमा १८ वर्षभन्दा लामो समय देखि जारीरहेको द्वन्द्व सधैका लागि अन्त्य गर्ने विश्वास लिइएको छ ।
यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० प्रमुखले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका–तालिवान सहमतिको स्वागत गरेका छन् । उनले सहमतिले अफगानिस्तानको दीर्घकालीन शान्तिको सम्भावित मार्गलाई खुला गरेको पनि बताएका छन्।