सुशील सुबेदी
स्याङजा, १६ माघ ।
गुप्ततारा स्मृती प्रतिष्ठानले स्याङजाको वालिङमा समकालिन नेपाली प्रतिनिधि लघुकथा बिमोचन तथा बिमर्श गरिएको छ । संसारभर रहेर नेपाली साहित्यको लघुकथा बिधामा कलम चलाएका एक सय ५२ जना सर्जकले लेखेको उत्कृष्ठ लघुकथा संग्रह विहिवार वालिङ स्थित नेचुरल भ्यू प्वइन्ट होटलमा आयोजित कार्यक्रमका विच बिमोचन गरिएको हो ।
समकालिन नेपाली प्रतिनिधि लघुकथा संग्रहमा तिन सय आठ बटा कथा समेटिएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल र परिवारले आमा तारादेबी अर्याल र बाबा गुप्तप्रसाद अर्यालको नाममा प्रतिष्ठान स्थापना गरिएको हो । साहित्य श्रेत्रलाई संरक्षण र प्रबद्र्धन गर्ने उदेश्यले स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष अनन्तराज अर्यालले बताए ।
२०६५ सालदेखि नेपालमा लघुकथाको स्थापना भएसँगै पाठकको रुची र सर्जकको लेखनले ठुलो फड्को मारेको गोरखापत्र राष्ट्रिय दैनिकका सम्पादक ओम श्रेष्ठ (रोदन) ले बताए । लघुकथाको विमोचन गर्दै उनले छोटो कथा भित्र खँदिलो बिषयबस्तु यसको बिशेषता भएको कारण पछिल्लो समय साहित्य क्षेत्र भित्र यो बिधा निकै लोकप्रिय रहेको श्रेष्ठको भनाई थियो ।
ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष देबेन्द« लम्सालले लघुकथा संग्रह माथी बिमर्श गरेका थिए । लम्सालले प्रतिष्ठानको स्थापनाकालको पहिलो बर्षमा समकालीन नेपाली प्रतिनिधि लघुकथा ऐतिहासिक कार्य भएको बताए । प्रतिष्ठानले देश बिदेशका साहित्यकारलाई एउटै फुलको थुङ्गामा गाँसेको उनको भनाई थियो ।
कार्यक्रममा लघुकथाकार प्रा.डा. कपिल लामिछाने, साहित्यकार तथा पूर्व मन्त्री त्रिलोचन ढकाल, लघुकथाकार हरिप्रसाद भण्डारी, साहित्यकार गंगा कर्माचार्य पौडेल लघुकथाले छोटो समयमा ठूलो फड्को मारेको र पाठकको माग पनि रहेको बताए । उक्त कृतिको सम्पादन स्याङ्जाली साहित्यको क्षेत्रमा क्रियाशील अनन्त अर्याल, मिलन समीर, श्यामप्रसाद ढुंगाना र शम्भु अर्यालले गरेका हुन् ।