वालिङ, ४ पौष ।
वालिङ वालिङ नगरपालिका वडा नं। ६ स्थित धनुबाँसमा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।
स्थानीय चक्रदेवी लाङघाली युवा क्लब धनुबाँसले आयोजना गरेको प्रतियोगिताको नेपाली काँग्रेसका युवा नेता समाजसेवी नेत्रप्रसाद पाण्डेले शुक्रवार उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै पाण्डेले खेलकुद स्वास्थ्य, अनुसासन र राष्ट्रको लागि भएको भन्दै उनले तिनै तहका सरकारले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
ग्रामिण क्षेत्रमा रहेका क्लव र युवाहरुले खेलकुदमा देखाएको अग्रसरताबाट नै समाज र देशलाई खेलकुदको माध्यमले चिनाउन सकिने भन्दै उनले भने, ‘माथिल्लो तह देखि तल्लो तहका सरकारले खेलकुदको विकासमा तदारुकता देखाउन नसक्नु विडम्वना हो ।’
भलिवललाई राष्ट्रिय खेलका रुपमा रहेपनि यसको गौरब कायम राख्नु निकै चुनौती रहेको वताउदै प्रमुख अतिथी पाण्डेले खेलकुदको विकासका लागि बिना पुर्वाधार खेलाडी उत्पादन गर्न नसकिने तर्क पेश गरेका थिए । खेलाडीको सफलतामा चर्का भाषण गर्ने जनप्रतिनिधिले तल्लो तहवाट पूर्वाधारको विकासमा चासो दिन समेत आग्रह गरेका थिए ।
कार्यक्रममा प्रेस युनियनका निर्वतमान सभापति श्रीकृष्ण सिग्देलले खेलकै माध्यमबाट सिंगो देशको नाम अन्तराष्ट्रिय स्तरमा पुगेको भन्दै खेल र खेलाडिलाई सम्मान गर्न सबै तहका सरकारलाई आग्रह गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समुहले क्रमशः ४० हजार, २९ हजार, १८ हजार, ७ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । क्लबका अध्यक्ष आशिष सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत भजिन्द्र थापा र सञ्चालन राजेश सिंजालीले गरेका थिए ।