काठमाडौं, मंसिर ४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको जिम्मेवारी बाँडफाँट गरेको हो ।
नयाँ कार्यविभाजनअनुसार अध्यक्ष ओली पूरा कार्यकाल प्रधानमन्त्री रहनेछन् भने दाहालले पार्टीको नेतृत्व गर्नेछन् ।
पार्टीमा दुवै अध्यक्षको वरीयता समान हुनेछ भने बैठकको अध्यक्षता संयुक्तरुपमा गर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
गएको साउन अन्तिम साता दुई अध्यक्षबीच एकजनाले सरकारको नेतृत्व गर्ने र अर्कोले पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन नभएको भन्दै दाहालले असन्तुष्टि पोख्दै आएका थिए ।
कार्यविभाजनसँगै अब दाहालले पार्टीको कार्यकारी अध्यक्षको काम–कारबाही अर्थात् पार्टीका आन्तरिक बैठकको अध्यक्षता गर्नेछन् ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्दा दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने ‘गोप्य सहमति’ भएको थियो ।
सचिवालय बैठकमा मन्त्रिमन्डल पुनर्गठनबारे छलफल भएपनि टुंगो लाग्न भने सकेन ।
सचिवालय बैठक बस्नुअघि अध्यक्षद्वय ओली र दाहालबीच मन्त्रिमन्डल पुनर्गठनबारे छलफल भएको थियो । छलफलपछि दुवैजनाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरेका थिए ।