स्याङ्जा २९ असोज
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले रोजगारी र स्वरोजगारी नै अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गर्दै कृषि क्षेत्रको विकासवाट दुबै कुरा प्राप्त हुने वताएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाले गल्याङ नगरपालिकामा आज गरेको कार्यक्रममा नगर प्रमुख अधिकारीले मुलुकमा भाषणमा धेरै बोलिए अब अब रोजगारी र स्वरोजगारी का लागि उत्पादनमुखि कार्यमा लाग्नुपर्ने बेला आएको बताएका छन्।
कृषि क्षेत्रबाट मात्रै रोजगारीको सिर्जना हुन सक्ने र विदेशीएका युवालाई देशमा नै फर्काउने वातावरण श्रृजना हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरेका छन् । नगर प्रमुख अधिकारीले भने–‘आफ्नै देशमा दुख गरेर परिवार सँगै बस्ने वातावरण बनाउन नगरपालिका प्रतिबद्ध छ ।’
आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई अझै बढि बजेट छुट्याउने पनि जानकारी दिए । ‘नगरपालिकाको आफ्नै डोजरले बाटो खनिरहेको छ, अन्य क्षेत्रमा धेरै बजेटको जरुरी छैन’ नगरप्रमुख अधिकारीले भने, –‘किसानको उत्थान र त्यसैमार्फत रोजगारी नै अहिलेको मुख्य काम हो ।’नगरपालिकालाई मसलाबारी जोन बनाउने सन्दर्भमा आफु जुटिरहेको भन्दै अधिकारीले अदुवा र बेसार विस्तारमा लाग्न किसानहरुलाई आग्रह गरे । किसानले उत्पादन गरेको अदुवा विक्रीको जिम्मा नगरपालिकाले लिने भन्दै बजारको कुनै समस्या नहुने समेत जानकारी दिए ।
अदुवा तथा अन्य कृषि क्षेत्रका लागि चाहिने सहुलियत ऋणको कुनै समस्या नभएको भन्दै उनले किसानलाई ऋण उपलब्ध गराउने र उत्पादन गरी विक्री गरेपछि ऋण भूक्तानी गर्न सकिने व्यवस्था मिलाउने जानकारी दिए । साथै, उत्कृष्ट कृषकलाई पुरस्कारको व्यवस्था पनि गरिने योजना रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका कृषि अधिकृत महाप्रसाद पौडेलले कृषि क्षेत्रको पकेट जोन निर्माण गर्न कार्यक्रम गरिएको बताए ।