चापाकोट २८ असोज ।
चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरिले युवा शक्ति नै समाज परिवर्तनको मुख्य आधार भएको बताएका छन् । लोहोम्बास युवा क्लब चापाकोट ४ लग्दाको आयोजनामा भएको गाउँ स्तरिय भलिबल प्रतियोगिताको फाइनल खेलको उद्घाटन गर्दै युवाहरुको सक्रियतामा मात्र विकास सम्भव भएको बताएका हुन् ।
नगर प्रमुख गिरिले आफ्नो ठाउँको विकासमा जुट्ने समय आएको भन्दै नगरपालिका विकासको साझेदार रहको उल्लेख गरेका थिए । उनले भने, ‘विकासको आधार युवा शक्ति हो । विकासका लागि युवाहरु जुट्नुको विकल्प छैन ।
चापाकोट नगरपालिका युवाहरुलाई समेटेर विकासमा अघि बढ्न चाहान्छ ।’ गिरिले पूर्वाधार विकासमा पछि परेका क्षेत्रमा नगरपालिकाले प्राथमिकताका साथ रकम विनियोजन गर्ने जानकारी दिए।
कार्यक्रममा चापाकोट नगरपालिकाका कार्यपालिका सदस्य सुर्य माझि र चापाकोट नगरपालिका ४ का वडा सदस्य तिलक बिक्रम खाँडले यस्ता प्रतियोगिताले युवाहरु विच भातृत्वको सम्बन्ध कायम गर्ने बताए । लोहोम्बास युबा क्लबका अध्यक्ष खिम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम समाजसेवी हरि सिङको स्वागत बाट सुरु भएको थियो ।
विजया दशमी तथा शुभदिपावलीको अवसरमा आयोजित प्रतियोगितामा प्रथम सम्झना युवा क्लव बलेउ, दोस्रो लोहोम्बास युवा क्लब आयोजक र तेस्रो नव ज्योति क्लव भएको छ ।