गह्रौकालिका मन्दिर
स्याङजा, १९ असोज ।
नेपाली हिन्दु धर्मालम्बीको महान् पर्व दशैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ ।
विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको यस दिन नेपालीहरुको घरघर, शक्तिपीठ र देवी मन्दिरशरुमा नवदुर्गा भवानीको पूजा गरेर मनाइएको छ । आज विहानै देखि शक्तिका प्रतिक मानिने महाकाली र देवी भगवतीका मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।
स्याङजा जिल्लाका गह्रौकालिका, मनकामना, आलामदेवी, सतौंचण्डी, कालाभैरव, डहरेदेउराली, पंचासे, खिलुंङ कालिका, रापाकोट लगायतका शक्तिपीठमा बली दिने पूजा आराधाना गर्नेको भीड लागेको छ ।
शक्तिपीठहरुमा पुजाअर्चनाका साथै राँगा, बोका हाँस, कुखुरा र परेवा लगायत पशुपंक्षी पञ्चवलीे बलि दिने प्रचलन छ । मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् ।
महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ ।
महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातमा कालरात्रिको पनि पूजा गरिने प्रचलन छ ।