भिरकोट, १ असौज ।
स्याङजा जिल्लाको भिरकोट नगरपालिकाले संविधान दिवस २०७६ भव्यताका साथ मनाउने भएको छ । नेपाल सरकारको निर्णय बमोजिम आगामी असोज २ गतेवाट ४ गते सम्म नगर प्रमुख छाँयाराम खनालको संयोजकत्वमा विविध कार्यक्रमका साथ संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
नगरपालिकाको बैठकवाट नगरप्रमुखको संयोजकत्वमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउनका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको भिरकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिए । उनका अनुसार नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दल, स्थानीय संघ संस्था, सरकारी कार्यालय, नागरिक समाज र स्थानीयहरुको सहभगितामा असौज २ गते विहिवार नेपालको राष्ट्रिय झण्डा र प्रभातफेरी सहित बजार परिक्रमा गरिने छ भने, नगर क्षेत्र भित्र बृहत सरसफाई कार्यक्रम पनि गरिने वताएका छन । सोही दिन संविधानका विषयमा सहभागीहरु संग परिसम्वाद कार्यक्रम सन्चालन गरिने पनि जानकारी दिएका छन् ।
असोज ३ र ४ गते भिरकोट नगरपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण घरपरिवारलाई लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवसको खुसियालीमा राष्ट्रिय झण्डा फहराउन र साँझ दिप प्रज्वलन गरी दिपावली गर्न प्रत्येक घर परिवारलाई वडा अध्यक्ष मार्फत आग्रह गरिएको समेत प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले जानकारी दिएका छन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संविधान दिवस व्यापक बनाउन देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ। संविधान दिवस मनाउने सम्बन्धमा स्थानीय तहका लागि तोकिएको भूमिकासमेत उल्लेख गर्दै त्यसको पालना गर्न र गराउन ७ सय ५३ स्थानीय तहमा पत्रमार्फत निर्देशन दिइएको हो। संघीय, लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएपछि संविधान दिवस मनाउन सरकारले कडाइका साथ निर्देशन जारी गरेको यो नै पहिलोपटक हो ।