भवानी अधिकारी
स्याङ्जा २१ भदौ ।
मंसीरमा मात्र पाकेर खान पाईने सुन्तला स्याङ्जामा भने भदौंमै पाकेर पहेंलै भएका छन् ।
सुन्तलाका लागि उर्वर मानिएको स्याङजाका केही किसानले भदौमै पाकेर खान मिल्ने सुन्तला फलाएका हुन ।
पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका केही किसानले यस्ता सुन्तला बगैंचा र गमलामै फलाएका हुन । बोटमै पाकेका जापानीज उन्सु र धनकुटाको खोकु जातका सुन्तला स्याङ्जामा फलाइएका हुन ।
उहाँहरु लगायत अन्य केहीले सुन्तला लगाएका छन् । विस्तारको क्रममा रहेको छ । तीजका लागि भनेर बगैंचामा पाकेका सुन्तला छन । अहिले फलेका सुन्तलाको मूल्य पनि राम्रो छ । प्रधानमन्त्री सुन्तला परियोजना समेत लागु भएको स्याङ्जामा साउनदेखि फागुनसम्मै बोटबाटै सुन्तला खान पाइने भएको छ ।
सुन्तला लगाउनका लागि जग्गा जमिन छैंन भनेर पनि चिन्ता लिनु नपर्ने भएको छ । घरको बरण्डा र आगनको प्रयोग गर्न सकिन्छ । अहिले फल्ने सुन्तला त गमलामै पनि रोप्न सकिन्छ । गमला, बाल्टी, ड्रम र बोरामा समेत रोप्न सकिने बोधराज अर्याल भन्छन् । यहाँ ती सुन्तलाले राम्रो उत्पादन दिन थालेपछि यहाँका किसानले ती सुन्तलाको स्थानीय भाषामा ‘अर्गोैटे’ सुन्तला भनि नामाकरण गरेका छन् ।
पुतलीबजार नगरपालिका १० थाराका कृष्णप्रसाद अर्याल र ११ का मायाटारीका बोधराज अर्याल, रामबन्धु अर्याल, अर्जुनचौपारी गाउँपालिकाका फणिनारायण अर्यालले भने ४÷५ महिना बाहेक बर्षभरी नै यसरी नै फलाएर बोटकै ताजा सुन्तला खाने थालेको एक दशकभन्दा बढी भएको छ । आफुहरुले खाएर पनि बिक्री गर्ने गरेको उनीहरुको भनाई छ ।
भदौमा पाक्ने जापानीज÷अष्ट्रेलियन जातको उन्सु सुन्तला र असोजमा पाक्ने धनकुटाको स्थानीय जातको खोकु सुन्तला पहेला भएका छन् । भदौमै खान सकिने उन्सु जातका सुन्तलाका दाना ठूल्ठूला र रसिलो हुन्छ । सुन्तलाका लागि उर्वर मानिएको स्याङजामा बर्षको ८ महिना नै बोटबाटै टिपेर ताजा सुन्तला खान सक्नेगरी किसानहरु सुन्तला खेतीमा जुटेको बोधराज अर्याल बताउँछन् ।
करेन्डाँडाका ४२ बर्षिय बोधराजको बगैंचामा जापानीज उन्सु सुन्तला छन् ।
स्थानीय जातका सुन्तलाका दान सानासाना र हरिया भएका वेला अर्यालको बारीमा जापानीज सुन्तला पाकेर पहेंला भएका छन् । उहाहरुले आफनै घर वरिपरी करिब दुई सय भन्दा बढी उन्सु जातका जापानीज र खोकु सुन्तला रोपेका छन् भने बिरुवा समेत बिक्री गर्दछन ।
खाराका कृष्ण अर्यालसंग पनि सय भन्दा बढी वोट उन्सु सुन्तला छन् । २ सय बोटले फल दिन थालेको उनले वताउछन । अर्यालले भनेर्, स्थानीय सुन्तला भन्दा ठूला दाना, बियाँ कम, बेमौसमको ताजा फल खोसाखोस हुन्छ ।’ बेमौसमी भएको हुदाँ माग अत्यन्त छ । नगद आम्दानी पनि राम्रो हुन्छ ।
यसैगरी, १४÷१५ बर्षअघि सुन्तलाखेती सम्बन्धी तालिमका लागि किर्तिपुर पुगेका बोधराज अर्यालले उन्सु जातका १० वटा कलमी बिरुवा ल्याएर करेसाबारीमा रोपेका हुन । परीक्षणका लागि ल्याइएका ती उन्सु र मुन्तला जातका सुन्तला केही बर्षदेखि नै बारीमा लटरम्मै फल्न थालेका हुन । उहासंग दुई सय भन्दा बढी उन्सु सु्न्तलाका बिरुवा छन् भने एक सय भन्दा बढीले फल दिन्छन । त्यसैले स्याङजामा साउनको अन्तिम सातादेखि फागुनसम्म सुन्तला खान पाइने भएको छ । यहाँ बर्षमा ४ महिना बाहेक ताजा सुन्तला खान पाइने भएको हो ।
गमलामा पनि फल्ने हुदाँ प्रति वोट एक हजार देखि ५ हजार रुपैंयासम्मका गमला सहितको सुन्तलाका बिरुवा बेच्ने गरेको अर्यालको भनाई छ । अर्यालले थपे ‘जेठ असारमा रोप्नु पर्ने मझौला खालका बोट हुने उन्सुले ३/४ बर्षमै फल दिन्छ । बोट सानो हुने हुदाँ करेसावारी, गमला, कौशी र फूलवारीमा समेत रोप्न सकिन्छ ।’ समुन्द्री सतहबाट ८ सय मिटरको उचाई र उत्तरतर्फ फर्केको जमिन, भीर पाखामा समेत राम्रोसंग फलाउने सकिने उन्सु सुन्तलाका लागि स्याङ्जाको हावापानी उपयुक्त मानिन्छ । बगैंचा, करेसाबारी, फुलबारी र गमला समेत राम्रो उत्पादन लिन सकिने हुदाँ बर्षपिच्छे गमला सहितको सुन्तलाको माग बढ्दो रहेको अर्यालले जानकारी दिए ।
पुतलीबजार र बालिङ् नगरपालिका, अर्जुनचौपारी गाउपालिका र एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे, पौवेगौडे, दार्सिङ, पेलाकोट लगायतका वडाहरु सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र हुन । यी क्षेत्रमा उन्सु जातका अथवा वेमौसमी अर्गौटे जातका सुन्तला रोप्न किसानलाई जागरुक बनाउने लक्ष्य रहेको सुन्तला तथा फलफूलका जिल्लाकै उत्कृष्ठ ब्यवसायी फणिनारायण अर्यालको भनाई छ ।