हिमदुुत सम्वाददाता
स्याङ्जा–२, भदौ ।
स्थानीय स्तरमा उपलब्ध जडिबुटीको पहिचान, महत्त्व र उपयोगिता सम्बन्धी तीन दिने अभिमुखिकरण कार्यक्रम भीरकोटमा सुरुवात भएको छ । नेपालका सातहजार जडिबुटीको अनुसन्धान गरिसकेका धर्ममहारस प्रमुख प्रशिक्षक रहेको सो कार्यक्रमको सहजीकरण लोकसंस्कृतिकर्मी तुलसी प्रवासले गरेका थिए ।
भीरकोट नगरप्रमुख छायाराम खनालको अध्यक्षतामा सन्चालन भएको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख खनालले भीरकोटलाई जडिबुटी पर्यटनको रूपमा विकसित गर्नका लागी अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गर्ने तयारी भैरहेको जानकारी दिए । सो अवसरमा आध्यात्मिक व्यक्तित्व चैतन्यकृष्णले आयुर्वेदको महत्व विषयमा आफना महत्त्वपूर्ण धारणा राखेका थिए । नगर उपप्रमुख सीमा कर्माचार्यको स्वागत मन्तब्य सहित सुरु भएको सो कार्यक्रममा सहजकर्ता तुलसी प्रवासले कार्यक्रमको औचित्य र महत्वबारे प्रकाश पारेका थिए ।
सोही कार्यक्रममा एस्थेटिक डान्स स्कुलले काठमाडौमा आयोजना गरेको राष्ट्रिय लोक नृत्योत्सवमा उत्कृष्ट प्रदर्शन गर्ने जुनेली भजनकीर्तन समाज कालिकाकोटलाई र नेपाली लोकनृत्यको समाजशास्त्रीय विवेचना शीर्षकमा उत्कृष्ट कार्यपत्र प्रस्तुत गर्ने तुलसी प्रभास खनाललाई नगरपालिकाको तर्फबाट सम्मान गरिएको थियो । भाद्र ४ गतेसम्म चल्ने सो कार्यक्रमको सन्चालन कविराज खेमराज देवकोटाले गरेका थ्एि ।।कार्यक्रममा भीरकोट नगरपालिकाका विभिन्न वडाबाट ६० जनाको उपस्थिति रहेको थियो ।