वालिङ २४ पौष ।
सरकारले देशमा २० लाख पर्यटक भित्र्याउनका लागि नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेपछि त्यसलाई सघाउ पुर्याउन स्थानीय तहमा रहेका विभिन्न संस्थाहरुले पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम शुरु गरिएको छ ।
यसै सन्दर्भमा वालिङ नगरपालिकामा स्थापित वण्डरफूल वालिङले “पहिला देश अनि मात्र विदेश” भन्ने नाराका साथ पर्यटन मेला २०७६ गर्ने जनाएको छ । आगामी माघ ९ देखि १९ गतेसम्म प्रथम वालिङ सांस्कृतिक तथा आन्तरिक पर्यटन रमाईलो मेला २०७६ को आयोजना गर्न लागिएको विहिवार वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
मुलुककै पहिलो पिङ्क सिटीको रुपमा अगाडी बढेको वालिङ नगरपालिकाको पर्यटकीय गन्तव्य, पर्यटकीय उत्पादन र गतिविधिको प्रदर्शन गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेलामा एक लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष लिइएको पत्रकार सम्मेलनमा मेला आयोजक संस्थाका संयोजक आशिष प्रताप खाँणले जानकारी गराए ।
नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धननै मेलाको मुख्य उद्देश्य रहेको वताउदै संयोजक खाँणले भने, “वालिङको पर्यटकीय सम्भावना र यहाँको पर्यटकीय स्थलहरुको परिचय विश्वभर फैलाउने महत्वपूर्ण माध्यमको रुपमा मेला लाई लिइएको छ ।” वण्डरफूल वालिङले विगतका वर्षहरुदेखिनै कल्चर, एडभेन्चर र नेचरलाई संस्थागत गर्दै पर्यटन प्रर्वद्धनका लागी यसअघि अन्तराष्ट्रिय माउन्टेन वाईक प्रतियोगिता समेत गरिसकेको छ ।
वालिङ ६ मिर्दिको नयाँ बसपार्कमा हुने मेलामा सूचना प्रविधि, घरेलू तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको विक्रि तथा प्रदर्शनी, होमिस्टे, बालउद्यान, खाद्यान्न, कृषि उपजको विक्रि तथा प्रदर्शनी गरी १५० स्टलहरु रहनेछन् । स्थानीय स्तरमा आयोजना हुने महोत्सवका कारण यहाँका विशेष गरी फेन्सी व्यापारीहरु मारमा परेको गुनासोहरु आईरहेको बेला रमाईलो तथा पर्यटन मेलामा फेन्सी प्रकृतिका व्यापारीक स्टलहरु भने नराख्ने सम्झौता भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । मेलामा हस्तकला, स्थानीय उत्पादन, कृषि, पर्यटकीय स्थलको फोटो प्रर्दशनी, खाद्यान्न लगायतका स्टलहरु राखिने समेत आयोजकले जनाएका छन् ।
मेला सम्पन्न गर्नका लागी आयोजक समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएका छन् । १० दिन सम्म चल्ने मेलामा हरेक दिन लाईभ कन्र्सट, बालउद्येन, राष्ट्रिय कलाकारहरुको प्रस्तुति, विच भलिबल ( बालुवामा खेलिने भलिवल ) प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता लगायतका गतिविधिहरु रहनेछन् । मेलामा ६२ लाख ५० हजार १ सय ११ आम्दानी गर्दै ५९ लाख खर्च गरी ३ लाख ५० हजार १ सय ११ बचत गर्ने आयोजकको लक्ष्य रहेको छ । बचत रकमले पर्यटन प्रर्वद्धन तथा विभिन्न सामाजिक सेवामा खर्च गरिने समेत आयोजकले जनाएको छ ।