
स्याङ्जा, ९ मंसिर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र सञ्चारमाध्यममाथि भइरहेका हस्तक्षेपको विरोध गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाले सामूहिक गिरफ्तारीको चुनौतीसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ।
मंसिर ९ गते आयोजित विरोध कार्यक्रम महासंघको कार्यालयबाट सुरु भएको थियो। ‘पत्रकारहरूलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित निकालिएको विरोध र्याली जिल्ला प्रशासन कार्यालय पुगेर धर्नामा परिणत भएको थियो।

धर्नाका क्रममा पत्रकारहरूले सञ्चारमाध्यमको प्रवेशद्वारमा सवारीसाधन तेर्साएर आवागमन अवरुद्ध गर्ने, मिडिया हाउसमा धरपकड गर्ने तथा पत्रकारलाई गिरफ्तार गर्ने कार्यप्रति कडा आपत्ति जनाएका थिए। त्यसैगरी लोककल्याणकारी विज्ञापनको रकम कटौती, श्रमजीवी पत्रकारलाई निष्कासन र सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी लगाउने प्रवृत्तिको अन्त्य गर्न माग गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले प्रलोभन र धम्कीका अगाडि स्वतन्त्र पत्रकारिताको मूल्य र मान्यताबाट विचलित नहुन पत्रकारहरूलाई आग्रह गरे। उनले प्रेस स्वतन्त्रता पत्रकारको मात्र नभई समग्र लोकतन्त्र र नागरिकको अधिकारसँग जोडिएको विषय भएको उल्लेख गर्दै भने, “हामीलाई स्वतन्त्र प्रेस चाहिन्छ, नियन्त्रणमुखी प्रेस होइन। हामीलाई जवाफदेही राज्य चाहिन्छ, प्रश्नदेखि डराउने राज्य होइन। हामीलाई संविधानको रक्षा चाहिन्छ, संविधानमा लेखिएका अधिकारको व्यवहारमै कार्यान्वयन चाहिन्छ।”
अध्यक्ष कोइरालाले नेपाल पत्रकार महासंघले अघि सारेका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताए।
विरोध कार्यक्रममा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘नेपाल पत्रकार महासंघका जायज माग तत्काल पूरा गर’ र ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लगायतका नारासहित प्रतीकात्मक सामूहिक गिरफ्तारीको चुनौती प्रस्तुत गरिएको थियो।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, रोसन लामिछाने, वरिष्ठ पत्रकार एवं पूर्वअध्यक्षहरू ओमप्रकाश शर्मा र प्रकाश डोटेललगायत जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।
धर्नामार्फत महासंघले राज्यका निकायलाई प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्न, सञ्चारमाध्यममाथिको हस्तक्षेप बन्द गर्न, पत्रकारको पेसागत सुरक्षा सुनिश्चित गर्न र महासंघका माग तत्काल कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ।