स्याङजा, १ कात्तिक ।
जमिनमा उत्पादन बढाउने अभिप्रायले कृषकहरूले जथाभाबी मात्रामा रासायनिक मल तथा बिषादीको प्रयोग गरिरहेका बेला यसलाई न्यूनिकरण गरि प्राङगारिक कृषिमा रासायनिक मल तथा बिषादिहरूको प्रयोग हटाउने उद्देश्यले स्याङजामा प्राङ्गारिक कृषि उत्पादन प्रमाणिकरण सम्बन्धी जिल्ला स्तरीय समिति (पिजिएस) गठन गरिएको छ ।
वाङसिङ स्थित पर्यटकीय केन्द्र भञ्याङमा आयोजित भेलाले उक्त समिति गठन गरेको हो ।
कृषि क्षेत्रका सरोकारवाला समूह सहभागी भई आधीखोला गाँउपालिकामा संचालित प्राङ्गारिक उन्मुख तरकारी खेतीको स्थलगत अनुगमन तथा निरीक्षण पश्चात उक्त समिति गठन गरिएको हो ।
भीरकोट नगरपालिकाका नगरप्रमुख छाँयाराम खनालको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको हो । समितिको सहसंयोजकमा आँधीखोला गाउपालिकाका अध्यक्ष सुधीर कुमार पौडेल रहेका छन् । यसैगरी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका प्रमुख वा प्रतिनिधी, आपसी सहयोग केन्द्रका कार्यकारी निर्देशक हरिप्रसाद ढकाल, प्राबिधिक अधिकृत रविन पौडेल, कार्यक्रम संयोजक यदुप्रसाद पौडेल सदस्य रहनेगरी समिति गठन भएको छ ।
कार्यक्रममा भीरकोटका नगर प्रमुख छाँयाराम खनालले देशमा प्राङगारिक कृषिको बिकासका लागी पर्याप्त कानुनि आधार हुँदा हुदै पनि संरचनागत आधार तथा कृषियोग्य जमिनको खन्डिकरणले उक्त क्षेत्रको वृद्धि बिकास मा आशातित प्रगति हुन नसकिरहेको अवस्थामा स्याङ्जा बाट अभियान सुरु हुनु पनि जिल्लाका लागि सरकात्मक भएको धारणा व्यक्त गरेका छन् ।
भेलामा आँधीखोला गाँउपालिकाका अध्यक्ष सुधीरकुमार पौडेल, भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका प्रमुख विश्वनाथ गौतम, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख इश्वरीप्रसाद अर्याल, आपसी सहयोग केन्द्रका कार्यकारी निर्देशक हरिप्रसाद ढकाल लगायतले स्वस्थ्यकर जीवन जीउने यस्ता अभियानलाई अन्य पालिकामा समेत बिस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
आपसी सहयोग केन्द्र स्याङजा नेपाल र त्रिकोण डेनमार्कको साझेदारीमा गतबर्षको कात्तिक महिनादेखि आँधीखोला गाउँपालिका अन्तरर्गत साविकका गाविस फापरथुम र बाङसिङ र भीरकोट नगरपालिकाको साविकको ढापुक सिमलभञ्याङमा प्राङ्गारिक उन्मुख तरकारी उत्पादन गरिदै आएको छ ।
बाङसिङमा २३४, फापरथुममा २१४, ढापुकमा १९७ कृषक घरधुरीलाई प्राङ्गारिक उन्मुख तरकारी उत्पादन गर्नका लागि बिभिन्न तालिम, वीउ र प्राबिधिक सहयोग उपलब्ध गराउदै आएको छ ।
आपसी सहयोग केन्द्रका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी निर्देशक हरिप्रसाद ढकाल र प्राबिधिक अधिकृत रविन पौडेलले यस विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए