
वालिङ, मंसिर – २ ।
वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई एक विशेष समारोहका बीच सम्मान गरेको छ।
शिक्षा दिवस २०८२ असोज २ गतेका लागि तय गरिएको कार्यक्रम जेन्जी आन्दोलनका कारण स्थगित भएकोले हिजो सोमवार उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
सामुदायिक तथा संस्थागत दुवै विधाका उत्कृष्ट विद्यार्थीलाई नगद, प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिएको थियो। सामुदायिक विद्यालयतर्फ सन्ध्या मरासिनीले ३.८८ जिपिए प्राप्त गरी उत्कृष्ट विद्यार्थी घोषित भइन्।

त्यस्तै संस्थागत विद्यालयतर्फ नेपाल आदर्श मा.वि.का अप्सन सुबेदी र पाईनिअर्स हायर एजुकेशन एकेडेमीकाका प्राप्ती काफ्ले दुवैले ४.० जिपिए हासिल गर्दै वालिङ नगरपालिकामा सर्वोकृष्ट विद्यार्थी बने।
२५ जना भन्दा बढी विद्यार्थी सहभागी गराई उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालय सम्मानमा सामुदायिक तर्फ महेन्द्र माध्यमिक विद्यालय, वालिङ–५ का प्रअ कमलराज लम्साल र संस्थागत तर्फ नेपाल आदर्श मा.वि., वालिङ–८ का प्रिन्सिपल होमकान्त गौतम सम्मानित भए।
उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यालयतर्फ सामुदायिक विधामा पूर्णामृत भवानी मा.वि., तथा संस्थागत विधामा नेपाल आदर्श मा.वि. र पाईनिअर्स हायर एजुकेशन एकेडेमी लाई सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख कविता तिवारीले सम्मानित विद्यार्थी तथा शिक्षकहरूलाई बधाई दिँदै नगरपालिकाले शिक्षा क्षेत्रमा अघि सारेका कार्यक्रमबारे जानकारी गराइन्। उनका अनुसार सामुदायिक विद्यालयहरूमा अतिरिक्त कक्षा सञ्चालनका लागि ८ लाख रुपैयाँ विनियोजन, कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क ड्रेस व्यवस्था, तथा रुम–टुरिड कार्यक्रम विस्तार गरिएको जानकारी दिएकी छन।
शिक्षाको विकास विना देशको विकास नहुने वताउदै उपप्रमुख तिवारीले विद्यालयले राम्रो नतिजा ल्याउने गरि अगाडि वढ्न आग्रह गरिन् । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै परिणाममुखी शैक्षिक वातावरण सृजना गर्न पालिका हरदम तयार रहेको उल्लेख गरिन ।
कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, शिक्षक, नगर कार्यपालिका सदस्य तथा शिक्षा समिति गरी झन्डै १ सय ५० जनाको उपस्थिति रहेको थियो। नगरपालिकाका अनुसार आगामी वर्षहरूमा शैक्षिक गुणस्तर अभिवृद्धिका थप कार्यक्रम विस्तार गर्दै लैजाने योजना रहेको जनाएको छ ।