
स्याङ्जा, १४ कार्तिक ।
वालिङ नगरपालिकाले भारतको पतञ्जली आयुर्वेदसँग सहकार्य गर्दै अश्वगन्धा जडिबुटी खेती विस्तारको अभियान थालेको छ । नगरपालिकाले पहिलो चरणमा १४ वटै वडाका कृषकलाई अभिमुखीकरण गर्दै खेती थालनीका लागि तयारी गरेको हो ।
तीनदिने अभिमुखीकरण कार्यक्रममा कृषकहरू उत्साहित देखिएका थिए । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारीले बाँझो जमिनलाई उत्पादनशील बनाउन अब जडिबुटी खेतीलाई प्राथमिकतामा ल्याइएको बताइन् ।
उनले भनिन्, “अब वालिङका खेतबारीमा अश्वगन्धाको हरियाली फस्टाउनेछ, कृषक दाजुभाइको हातमा नयाँ आम्दानीको अवसर खुल्नेछ ।”
नगरपालिकाको टोलीले केही समयअघि भारतको हरिद्वारस्थित पतञ्जली आयुर्वेदमा पुगेर जडिबुटी खेती, प्राविधिक सहयोग र उत्पादन खरिदसम्मको कार्यगत सम्झौता गरेको थियो । सम्झौता अनुसार पतञ्जलीले वालिङमा सहजै उमार्न सकिने अश्वगन्धा र सर्पगन्धाका बीउ उपलब्ध गराएको छ । ती बीउलाई नगरपालिकाले नर्सरीमा उमारेर कृषकलाई वितरण गर्ने तयारी गरेको छ ।

कार्यक्रममा रोजगार संयोजक पवन वश्याल र आयुर्वेद कविराज हरी अर्यालले अश्वगन्धा खेतीका विधि, औषधीय महत्व र सम्भावित आम्दानीका पक्षबारे विस्तृत प्राविधिक जानकारी दिए । कार्यक्रममा वन, वातावरण तथा विपद् शाखा प्रमुख मणि प्रसाद रेग्मीले सहजीकरण गरेका थिए ।
नगरपालिकाले कृषकलाई प्रारम्भिक रूपमा बिरुवा वितरण गरी आगामी वर्ष बीउ उत्पादन र जरा बिक्रीमार्फत प्रत्यक्ष आम्दानी सुरू गर्ने योजना अघि सारेको छ । पतञ्जलीका वैज्ञानिकहरू चाँडै वालिङमा आएर माटो परीक्षण र हावापानीको उपयुक्तता अध्ययन गर्ने तयारीमा रहेको पनि जानकारी दिइएको छ ।

अभिमुखीकरणमा सहभागी एक कृषकले भने, “ बाँझो जमिन हेर्दा खिन्न लाग्छ, खेती गरौ वाँदर लाग्छ यस्तो हैरानीवाट जडिवुटी खेती गरे केही हुन्छ कि भन्ने आत्मविश्वास पलाएको छ।”
नगरपालिकाले यो अभियानलाई आगामी दिनमा सर्पगन्धा, तुलसी, लगायतका यहाँको हावापानी र माटो सुहाउदो जडिबुटी खेतीसम्म विस्तार गर्ने योजना बनाएको छ । नगरपालिका आफैले पनि नमुना खेती गर्ने योजना सारेको समेत उपप्रमुख तिवारीले जानकारी दिईन ।