
क्रान्ति अर्याल, गल्याङ – भदौ ७ ।
कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसरमा गल्याङ–१, राम्दीस्थित श्री शिव–पार्वती वृदाश्रममा खाद्यान्न सामग्री वितरण गरिएको छ। मुक्तिनाथ फाउन्डेसनको आयोजनामा तथा मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोगमा उक्त सहयोग कार्यक्रम सम्पन्न भएको हो।
नेपाली समाजमा आमाबुबाप्रति कृतज्ञता, मायाप्रेम र सम्मान प्रकट गर्ने दिनका रूपमा मनाइने कुसे औँसीमा वृदाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई आत्मीयता र सेवा भाव प्रदान गर्ने उद्देश्यले करिब ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकका सञ्चालक भरत लम्सालले बैंकले केवल वित्तीय कारोबार मात्र नभई समाजप्रतिको उत्तरदायित्व पनि बहन गर्नुपर्ने मान्यता राख्ने बताए। उहाँले बुबाको मुख हेर्ने जस्तो विशेष दिनमा वृदाश्रमका आमाबुबासँग सम्मान प्रकट गर्दै सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।
फाउन्डेसनका तर्फबाट देवि प्रसाद अर्यालले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिइने बताउँदै वृद्धवृद्धा, असहाय तथा विपन्न वर्गका लागि भविष्यमा पनि यस्तै सहयोग कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा मुक्तिनाथ विकास बैंक गण्डकी प्रदेश प्रमुख रसिक भण्डारी, क्याटारा प्रसाद श्रेष्ठ, साथै बैंकका कर्मचारी अर्जुन सुवेदी, सन्तोष ढकाल, नवीन काफ्ले लगायतको उपस्थिति रहेको थियो।
वृदाश्रमका संचालक सुनिल श्रेष्ठले हाल आश्रममा २३ जना बुबाआमा बस्दै आएको उल्लेख गर्दै यस्ता सहयोगले ज्येष्ठ नागरिकहरूलाई ठूलो आत्मबल र आत्मीयता प्रदान गर्ने विश्वास व्यक्त गरे।
