
स्याङ्जा १ भदौ । गत साउन २३ गतेदेखि बेपत्ता भएका कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी २६ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डे मृत फेला परेका छन्।
कावासोति नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा महिलाको शव फेला परेको छ। भने, करिब ३०० मिटरको दूरीमा मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारीमा बालकको शव भेटिएको कालीगण्डकी ४ का वडा अध्यक्ष यादव पाण्डे सुन्दरले जानकारी दिएका छन् । सव सडेको अवस्थामा आज आईतवार भेटिएको वुझिएको समेत उनले वताए ।
श्यामकला आफ्ना छोरा अर्पितसहित “माइत जान्छु” भनी घरबाट हिँडेकी थिइन्। त्यसपछि गल्याङ नगरपालिका–५ स्थित सेतीवेणीको कालीगण्डकी नदी किनारमा झोला, मोबाइल, चप्पल र बालकको जुत्ता फेला परेको थियो। घटनापछि उनीहरूको खोजी कार्य तीव्र पारिएको थियो ।

दुवै शवलाई कावासोति स्थित मध्यबिन्दु प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। वडा अध्यक्ष यादव पाण्डेका अनुसार मृतक बालकको कानको मुन्द्रा र घाँटीको मालाबाट पहिचान गरिएको हो। शवको थप पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न श्यामकलाको परिवार अस्पतालतर्फ लागेको उनले जानकारी दिए। शवको आधिकारिकरूपमा पुष्टि भने हुन वाँकी रहेको समेत अध्यक्ष पाण्डेले जानकारी दिए ।