
स्याङ्जा – साउन २६ । गल्याङ नगरपालिका–१ मालुङ्गास्थित सामुदायिक वन क्षेत्रमा सामुदायिक बन दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। मालुङ्गा सामुदायिक वन क्षेत्रभित्र रहेको पार्कमा आयोजित कार्यक्रममा २०० बिरुवा रोपिएको छ।
कार्यक्रमको उद्घाटन गल्याङ नगरपालिकाका नगरप्रमुख गुरूप्रसाद भट्टराईले गर्नुभयो। उद्घाटन समारोहमा डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख नवराज बरालसहित वन कर्मचारी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता थियो।
वृक्षारोपण कार्यक्रम अन्तर्गत कल्की, धुपी, कपुर, तेजपात लगायतका बहुउपयोगी प्रजातिका बिरुवाहरू रोपिएका छन्। नगरप्रमुख भट्टराईले वृक्षारोपणजस्ता कार्यहरू वातावरण संरक्षण र भावी पुस्ताको भविष्यका लागि अति महत्वपूर्ण रहेको बताएका थिए ।
कार्यक्रमले सामुदायिक बनको संरक्षणमा जनचेतना फैलाउनुका साथै हरियाली प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।