
प्रकाश डोटेल
स्याङ्जा, १७ साउन । सुन्तलाका दाना झर्न थालेपछि स्याङ्जाका सुन्तला किसान चिन्तामा पर्न थालेका छन् । पुष्टिएका, हरिया र राम्रा दाना बनिसकेका बेला सुन्तला झर्न थालेपछि जिल्लाका सुन्तला किसान चिन्तामा परेका हुन् । अधिक गर्मि, गर्मिपछिको वर्षा र पतेराको आक्रमणले सुन्तलाको दाना झर्ने गरेको हो ।
साउनको मध्य कटिसक्दा समेत प्रयाप्त वर्षा भएको छैंन । सुन्तला बोटको राम्रो गोडमेल, स्याहार, र सरसफाईमा ध्यान दिनुपर्छ । आवश्यकता बमोजिम खाद्यान्न, मल, जल चाहिन्छ । मानिसलाई झैं पौष्टिक तत्व र भिटामिन नपुग्दा दाना झर्ने गरेको जानकारहरुको भनाई छ ।
सुन्तला झर्ने गरेको गुनासा लिएर किसानहरु कार्यालयमा आउने गरेको राष्ट्रिय कृषि आधुनिकीरण कार्यक्रम स्याङ्जाका सुन्तला प्राबिधिक प्रमुख ईन्द्रप्रसाद सुवेदीले सुनाए । सुन्तलाका दाना मौसम र पतेरा गरी २ कारणले झर्ने गरेको सुवेदीले बताए । दाना झर्न नदिन पतेरा नियन्त्रण र बिषादीको सहि उपयोगमा ध्यान दिन उनले किसानलाई सुझाए ।
सुन्तलाका दाना झर्ने समस्याबाट आफुहरु पनि प्रताडित भएकोे पुतलीबजार नगरपालिका १० का मुक्ति अधिकारीले बताए । बोटमा लागेका फलमध्ये झण्डै ३० प्रतिशत दाना झरेको छ । दिनहुँजसो सुन्तलाका दाना झरेका छन्, दाना झर्न दिनानुदिन बढ्दै गएको उनको भनाई छ ।
सुन्तलाका लागि स्याङ्जा प्रख्यात छ भने सुन्तलाका लागि उपयुक्त हावापानी भएका कारण अन्नपातको तुलनामा सुन्तला उत्पादनमा बढी जोड दिईन्छ । सुन्तलाका लागि उर्बर भूमि भएकाले कार्यक्रम अन्र्तगत सुन्तला सुपरजोन परियोजना कार्यान्वयनमा छ । परियोजनाले धेरै किसानलाई सुन्तला ब्यवसायी बनाउन सहयोग पुु¥याएको परियोजना अध्यक्ष बोधराज अर्यालले बताए ।
जिल्लाभर झण्डै २ हजार ३५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । कुल सुन्तला मध्ये झण्डै ६० प्रतिशतले उत्पादन दिदै आएको छ भने ४० प्रतिशत हुर्कदो अवस्थाका रहेको कार्यालयले जनाएको छ । वर्षेनी करोडौ मुल्य बराबर सुन्तलाको आन्तरिक कारोबार र निर्यात हुँदै आएको छ ।
गतबर्ष २० हजार मेट्रिक टन सुन्तला उत्पादन गरेका जिल्लाका किसानले सुन्तला बिक्रीबाट १ अर्ब १२ करोड नगद हात पारेका थिए । सुन्तलाका लागि बिजु बिरुवाले ५÷६ बर्षपछि र कलमी बिरुवाले २÷३ बर्षमा उत्पादन दिन थाल्ने अर्यालले बताए । जिल्लाका ११ पालिका र ९७ वडा मध्ये ५÷६ वडा बाहेक सबै वडामा सुन्तला खेती गरिएको छ । स्याङ्जामा २४ सहकारी, ८७ कृषक समूह र २५१ निजी फर्ममा सुन्तला उत्पादन हुन्छ ।
सयौं परिवार सुन्तला खेतीबाटै आफनो जिविकोपार्जन गर्दै आएका छन् । जिल्लामा स्थानीयदेखि जापानी, उन्सु, खोकु लगायतका मौसमी तथा बेमौसमी सुन्तला खेती पनि गरिन्छ । एउटै किसानले एक सिजनमा सुन्तलाबाट ५५ लाख भन्दाबढी आम्दानी गर्दै आएका छन् ।