
स्याङ्जा, असार २४ । वालिङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालनमा रहेका नगरस्तरीय ठूला तथा गौरवका योजनाको अनुगमन गरेको छ। नगरपालिकाले विनियोजित ५० लाख रुपैयाँभन्दा बढी लागतका योजनाहरूको आज जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीको नेतृत्वमा अनुगमन गरिएको हो।
नगर उपप्रमुख कविता तिवारी गैह्रेको नेतृत्वमा, योजना शाखाका प्राविधिकहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको नगरस्तरीय अनुगमन टोलीले योजनाहरूको स्थलगत अवलोकन गरेको छ। अनुगमनका क्रममा योजना प्रभावित क्षेत्रका स्थानीयबासीसँग प्रत्यक्ष भेटघाट गरी योजना कार्यान्वयनको प्रभाव, उपलब्धि र समस्या बारे जानकारी लिइएको थियो।

जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटिले ग्रामीण क्षेत्रमा साना समस्याले पनि ठूलो असर पार्ने भएकाले योजना निर्माण गर्दा समुदायको प्राथमिकता पहिचान गरी त्यसअनुसार योजना तय गर्नुपर्नेमा जोड दिए। उनले योजनाको प्रभावकारिता र दीगो विकास सुनिश्चित गर्न स्थानीय सहभागिता र समन्वय अपरिहार्य रहेको उल्लेख गरे।
नगर उपप्रमुख तिवारीले जनप्रतिनिधिहरूको सक्रियता, योजनाको गुणस्तरीय कार्यान्वयन र समयमै सम्पन्न गर्न र शुसासनका लागि यस्ता अनुगमनले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्। नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ। अनुगमन वडा नं ३ को वडा कार्यालय सम्म पुग्ने सडक, वालिङ ९ को ३० प्रतिशत लागत सहभागिता रहेको सडक, अस्पताल, सामुदायीक भवन लगायतका योजना अवलोकन गरिएको थियो ।