स्याङ्जा –२५ जेठ ।
पुतलीबजार नगरपालिकाले विज्ञ समिति गठन गरेको छ । नगर कार्यपालिकाको यही जेठ १७ गते वसेको ११८ औं बैठकको निर्णयअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १४ को उपदफा (२) र (३) बमोजिम विज्ञ समिति गठन गरिएको पुतलीवजार नगरपालिकाले जनाएको छ ।
विज्ञ समितिको संयोजकमा शैक्षिक, सामाजिक र नीतिगत क्षेत्रमा सक्रिय व्यक्तित्व भरत लम्साललाई मनोनीत गरेको छ। समितिमा पाँच सदस्य रहने व्यवस्था गरिएको छ। सदस्यहरूमा विभिन्न क्षेत्रमा अनुभव संगालेका व्यक्तित्व ध्रुववन्धु पौडेल, मनोज मल्ल, वोधराज अर्याल र भवानी अधिकारी रहेका छन्।
नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपन्छी, सूचना प्रविधि, वन–वातावरण, महिला, दलित, बालबालिका, जेष्ठ नागरिकलगायतका क्षेत्रमा नीति निर्माणका लागि सुझाव, सल्लाह तथा राय दिने उद्देश्यले विज्ञ समितिको गठन गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिए । समितिले नगरपालिकाका नीति तथा कार्यक्रम र नगरको वृहत्तर विकासमा सहयोगी भूमिकामा रहनेछन् ।
विज्ञ समितिका संयोजक लम्साल स्याङ्जा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हुनुका साथै मुक्तिनाथ विकास बैंकका सञ्चालक, नेपाली कांग्रेस स्याङ्जाका प्रवक्ता, एम्नेष्टी इन्टरनेशनल स्याङ्जाका संयोजक, पूर्व केन्द्रिय सदस्य मानव अधिकार तथा शान्ति समाज, सल्लाहकार PABSON, निवर्तमान अध्यक्ष HISSAN स्याङ्जा, तथा नेपाल शिक्षक संघका पूर्व केन्द्रिय उपाध्यक्षजस्ता बहुपक्षीय जिम्मेवारी सम्हालिसकेका व्यक्तित्व हुन्।
नगरप्रमुख तुलसीराम रेग्मीले संयोजक लम्साल सहित पाँचैजनालाई नियुक्त गर्दै बधाई दिएका छन्। उनले समितिका सदस्यहरूको अनुभव र दूरदर्शीता र कार्यक्षमता अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
नगरपालिकाले अनुभव, दक्षता र उत्तरदायित्वका आधारमा विज्ञ समितिलाई प्रभावकारी रूपमा सञ्चालन गरी स्थानीय तहको नीति निर्माणमा योगदान दिने अपेक्षा राखेको छ।