आरती कुँवर / वालिङ २४ जेठ ।
नेपाल स्वयंसेवक सञ्जालले सञ्चालन गरेको ‘जगदीश भुषाल बचाउ अभियान’ अन्तर्गत संकलित १३ लाख १६ हजार ६ सय ६८ रुपैयाँ भुषाल परिवारलाई हस्तान्तरण गरिएको छ।
वालिङ वडा नं. ९ को सामुदायिक भवनमा शनिबार आयोजित कार्यक्रममा वडा अध्यक्ष शेरबहादुर श्रेष्ठ अमृतको रोहवरमा सञ्जालका अध्यक्ष गोविन्द गैह्रे गोपालसहितको टोलीले उक्त रकमको चेक जगदीशका भाइ चिरण भुषाललाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा वालिङ साना किसान कृषि सहकारी समूहले ११ हजार ५ सय र शिक्षक मधुसूदन आचार्यले ३ हजार रुपैयाँको अतिरिक्त सहयोग हस्तान्तरण गरेका थिए। अध्यक्ष श्रेष्ठले भुषालको स्वास्थ्य लाभको कामना गर्दै संकटको घडीमा धैर्य र हिम्मतका साथ अघि बढ्न आग्रह गर्नुभयो।
३६ वर्षीय जगदीश भुषालको दुवै मृगौला फेल भएपछि हाल काठमाडौँ स्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ। रोजगारीको शिलशिलामा दुबई गएका भुषाल केही समयअघि नेपाल फर्किएका थिए। उपचार खर्च जुटाउन आर्थिक कठिनाइ भएपछि सञ्जालले १० दिने बचाउ अभियान सञ्चालन गरेको थियो।
सञ्जालका अध्यक्ष गैह्रेका अनुसार फेसबुक मार्फत देश तथा विदेशमा रहेका सहयोगी मनहरूले रकम पठाएका थिए। वि.सं. २०७८ मा स्थापना भएको सञ्जालले छोटो समयमै सामाजिक सेवामा सक्रियता बढाउँदै आएको छ। यसअघि विपना रेग्मी बचाउ अभियान मार्फत पनि झण्डै २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो।