स्याङ्जा, जेठ १२ ।
स्याङ्जा जिल्लाका ग्रामीण बस्तीतर्फ लामो दूरीको गस्ती (LRP) सम्पन्न गरिएको छ। शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राख्ने र अपराध नियन्त्रण गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाको मातहतमा रहेको वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले गस्ती गरेको हो।
प्रहरी निरीक्षकको नेतृत्वमा मिति २०८२ जेठ ९ गते खटिएको टोली ११ गते कार्यालय फर्किएको हो। गस्तीको दौरान टोलीले विभिन्न गाउँ, टोल तथा घर–घरमै पुगेर स्थानीयहरूसँग अन्तर्क्रिया गरेको थियो। सो क्रममा शान्ति सुरक्षा, घरेलु हिंसा, चोरी, लागुपदार्थ, आत्महत्या, जुवातास, तथा बाढी–पहिरोजस्ता विपद्सम्बन्धी विषयमा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको थियो।
वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायव उपरिक्षक दीपक शाहका अनुसार, यस्ता कार्यक्रमले प्रहरी र समुदायबीचको सम्बन्ध बलियो बनाउने र अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रहरीले नियमित गस्ती र जनचेतनामूलक कार्यक्रमहरू मार्फत समाजमा हुने नकारात्मक गतिविधिहरू न्यूनीकरण गर्न प्रयासरत रहेको बताइएको छ।