गल्याङ, जेठ ४ । गल्याङ नगरपालिकाले मौरीपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत मौरी पालक किसानलाई मौरीको घार तथा मौरी गोला वितरण गरेको छ। नगरप्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कुल २ सय ३० वटा मौरी घार वितरण गरिएको हो।
नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रममा आधारित रहेर ५० प्रतिशत अनुदानमा १५५ मौरीसहितको घार र ७५ खाली घार वितरण गरिएको जनाइएको छ।
कार्यक्रममा नगरप्रमुख भट्टराईले ‘एक घर एक मौरी’ नीति सफल बनाउँदै मौरी पालनलाई व्यवसायिक बनाउने लक्ष्य रहेको बताए। उनले गल्याङमा मौरीपालनको सम्भावना उच्च रहेको भन्दै किसानलाई यसतर्फ आकर्षित हुन आह्वान समेत गरे ।
यसअघि गल्याङ नगरपालिकाले मौरीपालन सम्बन्धी तालिम पनि सञ्चालन गरिसकेको छ। यो कार्यक्रमले स्थानीय मौरीजन्य उत्पादनमा वृद्धि गर्नुका साथै कृषकको आयआर्जनमा टेवा पुर्याउने विश्वास लिइएको छ।