स्याङ्जा, जेठ १ । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको क्षेत्रीय सभापति तुलसीराम रेग्मीले जानकारी दिएका छन्। सम्मेलन यही शनिबार पुतलीबजारस्थित सिटीहलमा हुने कार्यक्रम तय गरिएको छ।
सम्मेलनलाई नेपाली काँग्रेसका महामन्त्री तथा लोकप्रिय नेता माननीय गगन कुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, स्याङ्जाका सभापति तथा प्रतिनिधि सभा सदस्य राजु थापा, स्याङ्जाबाट निर्वाचित प्रदेशसभा सदस्यहरू लगायतले सम्मेलनलाई सम्बोधन गर्ने छन्।
काँग्रेस महाधिवेशन नजिकिँदै गएको सन्दर्भमा यस क्षेत्रीय सम्मेलनलाई विशेष महत्त्वका साथ हेरिएको छ। सम्मेलनका तयारीहरूबारे बिहीबार पार्टी कार्यालय स्याङ्जामा बसेको बैठकमा जिम्मेवारीअनुसारको कार्य प्रगति, बाँकी तयारी र समन्वयका विषयमा छलफल भएको थियो।
क्षेत्रीय सभापति रेग्मीका अनुसार सम्मेलन शान्तिपूर्ण, भव्य र संगठन सुदृढीकरणका हिसाबले ऐतिहासिक बन्ने अपेक्षा गरिएको छ।